अमेरिकी राष्ट्रपति चुनाव: बढी मत ल्याउनेले पनि हार्नसक्छ


प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार

अमेरिकी राष्ट्रपति चुनावको अनौठो पक्ष के छ भने चुनावमा बढी मत ल्याउनेले समेत चुनाव हार्नसक्छ । अमेरिकी इतिहासमा यस्तो कैयन पटक भएको छ ।

सन् २००० मा भएको राष्ट्रपति चुनावमा एल गोरले ५ करोड ९ लाख ९९ हजार ८ सय ९७ भोट ल्याए भने जर्ज बुसले ५ करोड ४ लाख ५६ हजार २ भोट ल्याए । बुसले भन्दा शुन्य दशमलव ५ प्रतिशत बढी भोट एल गोरले ल्याएका थिए । तर चुनाव जीते बुसले ।

त्यस्तै सन् २०१६ को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनले ६ करोड ५८ लाख ५३ हजार ५ सय १४ भोट ल्याइन् । तर ट्रम्पले त्यो भन्दा कम ६ करोड २९ लाख ८४ हजार ८ सय २८ भोट ल्याए । अर्थात् ट्रम्पले भन्दा हिलारीले झण्डै साढे २८ लाख बढी भोट ल्याइन् । तरपनि चुनाव भने ट्रम्पले नै जीते ।

यस्तो सन् १८८८ र १८७६ को चुनावमा पनि भएको छ । यस्तो घटना १८२४ मा पनि भएको थियो, तर त्यतीबेला ६ वटा राज्यहरुमा इलेक्टरहरु नियुक्त गरिएका कारण प्रकृया अलिकति फरक थियो ।

कसरी हुन्छ यस्तो ?

अमेरिकी राष्ट्रपति चुनाव पूर्णरुपमा प्रत्यक्ष चुनाव होइन । अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् ।

त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए ।

सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

त्यस्तै सन् २०१६ को चुनावमा ट्रम्पले ३०४ इलेक्टोरल भोट पाएका थिए भने हिलारीले २२७ इलेक्टोरल भोट पाएकी थिइन् । डेमोक्रेटिक समर्थकहरुको बाहुल्य रहेका राज्यहरुमा हिलारीले भारी मतान्तरले ट्रम्पलाई पराजित गर्दा र रिपब्लिकिनका पकड भएका क्षेत्रहरुमा ट्रम्पले हिलारीलाई झिनो मतान्तरले पराजित गर्दा कुल मत बढी प्राप्त गर्दा पनि हिलारीले चुनाव भने जित्न सकिनन् ।

अझ रोचक त के छ भने इतिहासमा पपुलर भोट कम ल्याएर पनि अमेरिकी राष्ट्रपति हुनेहरु चारैजना रिपब्लिकन रहेका छन् ।

उसो त अमेरिकाको चुनाव प्रणाली परिवर्तन गर्नुपर्ने आवाज पनि नउठेको होइन । राष्टपति पपुलर भोटबाट निर्वाचित हुनुपर्ने व्यवस्थाको माग पनि हुने गरेको छ । तर अहिलेसम्म भने त्यसो हुन सकेको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com