एनआरएन अमेरिका चुनाव : इमेलमा पहुच नभएको मतदाताको गुनासो


प्रकाशित मिति : भाद्र १८, २०७४ आईतबार

एनआरएन अमेरिकाको आगामी मंगलबार र बुधबार हुने चुनावमा आफ्नो नाममा रहेको इमेलमा आफ्नो पहुच नभएको मतदाताहरुले गुनासो गरेका छन् । विवरण, आईडी र शुल्क आफ्नो भएपनि उम्मेदवार वा उनीहरुका व्यक्तिले छुट्टै इमेल सृजना गरेर सदस्य बनाइदिएकाले इमेलमा आफ्नो पहुच नभएको मतदाताहरुले जानकारी दिएका छन् ।

केहीदिनदेखि खसोखासलाई प्राप्त फोनकल र गुनासा अनुशार मतदाताहरुले आफ्नो लागि बनाइएका नक्कली इमेलमा पहुच प्राप्त गर्न नसक्दा कैयन व्यक्तिका भोट अरुले मनोमानी तरिकाले हालिदिने सम्भावना उच्च रहेका छन् ।

नाम उल्लेख नगरिदिन भन्दै आइतवार विहानै एक मतदाताले भने — ‘सदस्य बनाउने भन्दै मेरो र मेरा परिवारका सदस्यहरुको सबै विवरण र शुल्क लगेका थिए । हामीले विश्वास गरेर दियौं । तर उनले नक्कली इमेल बनाएर हामीलाई सदस्य बनाएछन् । अब त्यो इमेलमा हाम्रो पहुच नहुँदा हाम्रो भोट अरु कसैले हालिदिने भयो ।’

खसोखासको आफ्नै अनुसन्धानले पनि यो कुराको पुष्टी गरेको छ । व्यक्ति र उनीहरुका विवरण सक्कली भएपनि नक्कली इमेल बनाएर सदस्यता बनाइएका कारण सयौंको संख्यामा रहेका त्यस्ता मतदाताले आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न नपाउने भएका छन् ।

त्यो बाहेक हुँदै नभएका व्यक्तिका नाममा समेत हजारौं मतदाताहरु सृजना गरिएको छ । व्यक्तिका नक्कली नाम र आईडी नम्बर सृजना गरेर बनाइएका हजारौं नक्कली मतदातालाई सदस्यता प्रमाणिकरण समितिले समेत पहिचान गर्न सकेको थिएन । उनीहरुको पहिचान निर्वाचन आयोगले कसरी गर्ने हो त्यो भने हेर्न बाँकी छ ।

तपाईलाई यसबारे केही भन्नुछ भने [email protected] मा इमेल गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com