अर्बौँको चिनियाँ लगानीमा नयाँ कारखाना
प्रकाशित मिति : भाद्र १८, २०७४ आईतबार

नेपालकै सबभन्दा ठूलो सिमेन्ट कारखाना निर्माण गर्ने गरि लगानी बोर्डले एउटा चिनियाँ कम्पनीसँग ३६ अर्ब रुपियाँको लगानीसम्बन्धी सम्झौता आइतबार गर्दैछ।
माथिल्लो कर्णाली तथा अरुण तेस्रोजस्ता दुईवटा ठूला जलविद्युत सम्झौता पछि नेपालमा विदेशी लगानीका लागि बोर्डले गर्न लागेको यो ठूलो सम्झौता भनिएको छ।
तर स्थानीय सिमेन्ट उत्पादकहरुले विदेशीलाई बढता सहुलियत दिएको भन्दै असन्तुष्टि जनाएका छन्।
दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्षका साथ चिनिँया कम्पनी होङसी ग्रुपले शिवम् सिमेन्टसँग मिलेर खोल्न लागेको उक्त उद्योगका लागि ३६ अर्ब रुपिँया लगानी गर्ने सम्झौता हुन लागेको लगानी बोर्डका अधिकारीले बताएका छन्।
प्रधानमन्त्री आँफै लगानी बोर्डको अध्यक्ष रहने गरेका छन्
‘प्रोत्साहन’
९ सय मेगावाट क्षमताको अरुण तेस्रो र सोही क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनापछि विदेशी निजी कम्पनीले नेपालमा गर्न लागेको यो सबैभन्दा ठूलो लगानी बनेको बताइएको छ।
लगानी बोर्ड नेपालका प्रवक्ता उत्तमभक्त वाग्लेले भने, “निर्माणस्थल सम्म सडक र बिजुलीको ट्रान्समिशन लाइन पुर्याइदिने हाम्रो दायित्व हो। त्यसबाहेक सरकारलाई आर्थिक भारको कुनै काम गर्नुपर्दैन। सबै उनीहरुले नै गर्नै हो।”
विदेशी लगानी भित्र्याउन प्रोत्साहन दिइरहेको सरकारले त्यसो गर्न लागेको जनाएको छ।
होङसी जस्तै अर्को चिनियाँ कम्पनीले पनि सिमेन्ट उद्योग खोल्नका लागि प्रकृया अगाडि बढाइरहेको र नाइजेरियाको कम्पनी डांगोटेले चाहिँ स्विकृती लिइसकेको लगानी बोर्डले जनाएको छ।
यसले नेपालमा सिमेन्ट उद्योगमा आकर्षण बढेको देखिन्छ।
विगतमा धेरै परिमाणमा विदेशबाट आयात हुने गरेको सिमेन्टको उत्पादन नेपालमा विस्तार हुन थाल्नुलाई सिमेन्ट व्यवसायीहरुले राम्रो भनेका छन्।

गुनासो
तर उनीहरुले विदेशीमात्रै नभइ स्थानीय कम्पनीका बारेमा पनि सरकार सचेत हुनुपर्ने बताएका छन्।
अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारका भन्छन्, “अहिलेको समस्या के हो भने विदेशी लगानीकर्तालाई बढी सुविधा दिने, स्थानीय लगानीकर्तालाई नदिनु राम्रो होइन। सबैलाई बराबर सुविधा दिनुपर्छ भन्ने हाम्रो माग हो। ”
झन्डै ५० स्थानीय कम्पनीहरुले अहिलेनै नेपालमा सिमेन्ट उत्पादन गर्दै आएकोमा ठूला र विदेशी कम्पनीहरु समेत थपिएपछि नेपाल छिट्टै सिमेन्टमा आत्मनिर्भर हुन सक्ने बताइएको छ।