कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिर जमानीमा रिहा


प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया रिहा हुनुभएको छ । उहाँलाई ९ दिनपछि हाजिर जमानीमा रिहा गरिएको हो । नागरिकता किर्ते कसुरमा सिरोहियालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा बुधबार उहाँलाई हाजिर जमानीमा छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभएको हो ।

अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु पर्ने नदेखेमा सरकारी वकिलको राय लिएर हाजिर जमानीमा छाड्न सक्ने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्थामा टेकेर छाडिएको प्रहरी प्रमुख अवाले बताउनु भयो ।

यही जेठ ८ गते पक्राउ परेका सिरोहिया हाल काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचाररत रहनु भएको छ ।

पक्राउको केही दिनमा जनकपुरको काव्य अस्पताल भर्ना गरिएका उहाँलाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको र हाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

सिरोहियामाथी सोमबार तेश्रो पटक हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको थियो । सोमबार तेस्रो पटक हिरासतमा राख्ने अनुमति दिँदा जिल्ला अदालत, धनुषाले उहाको स्वास्थ्य अवस्थालाई देखाउँदै उपयुक्त अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउन उपयुक्त हुने आदेश दिएको थियो । साथै अनुसन्धानमा ढिलाइ नगर्न प्रहरीलाई सचेत पनि गराएको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा श्रृंखलाबद्ध समाचार प्रकाशन भइरहेका बेला कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध प्रहरी कहाँ नागरिकतासम्बन्धी जाहेरी परेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले १७ वैशाखमा जाहेरी दर्ता गरेको थियो । प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो ।

अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।

सिरोहियाको रिहाइबारे राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले चासो राखेर नेपाल सरकारलाई उहाँलाई रिहाइको आग्रह गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com