डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्ला पुग्यो , सर्तकता अपनाउन आग्रह


प्रकाशित मिति : जेष्ठ ११, २०८१ शुक्रबार

डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिनुभयो ।

उहाँका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । उहाँले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गर्नुभयो ।

गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन ।

उहाँले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभयो ।

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ ।

डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com