भिर मह सिकारको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोली म्याग्दी पु्ग्यो , ‘हनी हन्टिङ’ को रुपमा प्रचार हुने अपेक्षा


प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार

भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् ।

देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले राससलाई बताउनुभयो ।

टोलीले हत्केलामा जउन राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताउनुभयो ।

लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए ।

भिर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् ।

ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्छ । झण्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताउनुभयो । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उहाँले बाताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com