प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँदै , कांग्रेसको अबरोध कायम रहने संभावना


प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।

उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्नुहुने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार विहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

यद्यपि कांग्रेसको अवरोधका कारण प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य प्रभावित हुने देखिएको छ । कांग्रेसले ‘गृहमन्त्री रवि लामिछानेले सहकारीमा गरेको रकम हिनामिना’ प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने बताएकोछ । सोमबार तय भएको बैठकअघि नै छानबिन समिति गठन नगरे अवरोध पुर्याउने चेतावनी महामन्त्री गगन थापाले दिनुभएको छ ।

अर्कोतिर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका सात सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

रिटमा जसपाका अध्यक्ष अशोक राईसहित सात सांसदलाई प्रधानमन्त्रीले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन र अन्य संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ ।

यद्यपि जसपा नेपालको विभाजनसम्बन्धी निर्णय यथास्थितिमा राख्न केही दिनअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । प्रधानमन्त्री दाहालले चौथो पटक बिश्वासको मत लिन लाग्नुभएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com