दश महिनामा पाँच हजारभन्दा बढी डढेलो , बैशाखमा सबैभन्दा बढी


प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार

करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ ।

वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को साउनयताको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको घटना भएका छन् ।

विभागको तथ्याङ्कानुसार चालु आवका साउनमा डढेलोको घटना शून्य छ । वर्षातको समयमा पानी पर्ने र वनजङ्गलको पातपतिङ्गर ओसिलो हुँदा डढेलो कम लाग्ने विभागले जनाएको छ ।

यसैगरी विभागको तथ्याङ्कानुसार भदौमा एक, असोजमा तीन, कात्तिकमा पाँच, मङ्सिरमा ३५, पुसमा एक सय तीना आगलागीका घटना भएका थिए । यसैगरी माघमा जम्मा ८३ वटा आगलागीका घटना भए भने फागुनमा डढेलाको सङ्ख्या बढेर दुई सय छ पुग्यो ।

चैत महिना अझै बढी सुक्खा हुँदै गएपछि डढेलाको घटना पनि बढेर एक हजार चार सय २४ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी वैशाखमा अझै डढेलोको घटना बढेर तीन हजार दुई सय ७० पुग्यो ।

विभागका अनुसार चालु आवको वैशाख मसान्तसम्म पाँच हजार एक सय ३० वटा आगलागीका घटना भएका छन् । विभागको तथ्याङ्कानुसार यही जेठयता भने ३० डढेलोको घटना भएकामा जनाइएको छ ।

एकैदिन सात डढेलोको घटना भएका छन् । विभागका अधिकृत गोविन्द श्रेष्ठले स्रोतसाधन अभाव, प्रशस्त पूर्वतयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकतानुसार बजेट नहुनु, नेपालको भौलिक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या भएको बताउनुभएको छ ।

“नेपालको भिरालो स्थान र हावाको गति बढ्दा पनि डढेलो नियन्त्रणमा चुनौती भएको छ”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लगि अन्तरसरकारी निकाय तथा अन्य सरोकारवाला निकायबीचको समन्वय आवश्यक रहेको छ ।” उहाँका अनुसार डढेलोका कारण बर्सेनि वनजन्य स्रोतको विनास हुनु, वन्यजन्तुको नास हुनु, बासस्थानमा असर पुग्नुलगायतका समस्या उत्पन्न हुने गरेको छ ।

डढेलोविद् सुन्दर शर्माका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सय हाराहारीमा डढेलाको घटना हुन्छन् । “असी प्रतिशत डढेलाको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छन् ।

चैत र वैशाखमा मात्र ६० प्रतिशत डडेलोका घटना हुने गर्छन् । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाका घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ । वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ । यो समयमा डढेलाको घटना बढी हुने गरेको पाइन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com