न्युयोर्कको सन्नीसाइडमा १७ बर्षीया सारालाई चक्कु हान्ने १५ बर्षीया किशोरी, हत्या अभियोग दायर
प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार
बुधबार राती न्युयोर्कको क्वीन्स सन्नीसाइडको ट्रेन स्टेशन बाहिर १७ वर्षीया किशोरी सारा रिभेराको घाँटीमा छुरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले अर्की १५ बर्षीया किशोरीलाई पक्राउ गरेको छ । अभियुक्तविरुद्ध हत्या अभियोग लगाइएको प्रहरीले जनाएको छ ।
के कारणले चक्कु हान्ने अवस्था निर्माण भयो भन्नेबारे केही स्पष्ट छैन । दुबैजना एउटै स्कुलमा अध्ययनरत विद्यार्थीहरु रहेको जनाइएको छ ।
सन्नीसाइडको ४६ औं स्ट्रीट स्टेशनबाहिर किशोरीको घाँटीमा छुरा प्रहार भएको घटनाबारे प्रहरीले बुधबार बेलुका ९ बजेर २५ मिनेटमा खबर पाएको थियो । त्यसपछि घटनास्थलमा पुग्दा किशोरीलाई घाँटीका छुरा प्रहारबाट ढलेको अवस्थामा फेला पारिएको थियो ।
मेडिक्स टिमले उनलाई तत्काल एल्महर्स्ट अस्पताल लगेका थिए । त्यसपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए ।
एउटा चक्कु माथिल्लो ट्र्याकहरू मुनि भुइँमा घटनास्थलमा छोडिएको थियो । तस्बिरहरूमा झोलाहरु पनि च्यातिएको अवस्थामा भुईमा छरिएको र रगतले भिजेका कागज टावेलहरु भुइँमा रहेको देखिएको थियो ।
न्युयोर्क सिटीमा टीनएजरहरुविरुद्ध हिंशाका घटना बढिरहेको सन्दर्भमा यो घटना भएको हो । पछिल्लो केही न्युयोर्क सिटीभर किशोरकिशोरीहरू विरुद्धको हिंसामा ती युवती कम्तीमा सातौं पीडित हुन् ।
यो घटनाभन्दा केही घण्टा अघि ब्रोन्क्स म्याकडोनाल्ड्स बाहिर २ जना १५ वर्षीय केटाहरूलाई छुरा प्रहार गरिएको थियो। दुवै निको हुने अपेक्षा गरिएको छ।एक दिन अघि एक बन्दुकधारीले १६ वर्षीया महकी ब्राउनलाई लक्जरी सोहो होटल बाहिर गोली हानेर मारेको थियो ।
यस अगाडि गत हप्ता ब्रोन्क्समा १७ वर्षीया एमिली मिजेलको छुरा प्रहारपछि मृत्यु भएको थियो । मिजेलको हत्याको आरोपमा प्रहरीले १५ वर्षीया किशोरीलाई पक्राउ गरेको छ ।





