लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिदै , महरा मुख्यमन्त्री बन्ने तयारीमा


प्रकाशित मिति : चैत्र २२, २०८० बिहीबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहिबार प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक प्रदेश प्रमुख अमिक शेरचनले बोलाउनु भएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फागुन २३ गते फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले बिश्वासको मत लिन लाग्नु भएको हो ।

दुई वा सो भन्दा बढि दल मिलेर बनेको सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री चौधरीले बिश्वासको मत पाउने संभावना अत्यन्तै न्यून रहेको छ ।

गठबन्धनको शीर्ष नेताहरूबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने समझदारी बनिसकेको ले माओवादीका केन्द्रका संसदिय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने प्राय निश्चित जस्तै छ ।

महराको पक्षमा सत्ता गठबन्धनका ४७ सांसद रहेको र नागरिक उन्मुक्तिसँग पनि छलफल चलिरहेको माओवादी केन्द्रले दावी गरेको छ । रोल्पाबाट निर्बाचित महरा एमालेका लिला गिरी मुख्यमन्त्री भएको बेला अर्थमन्त्री बन्नुभएको थियो । केन्द्रमा लुम्बिनी प्रदेशको नेतृत्व माओवादी केन्द्रलाई दिने सहमति जुटेपछि एमाले भित्र भने असन्तुष्टि देखिएको छ । नेता देखि कार्यकर्ताले लुम्बिनीमा अन्याय भएको भन्दै सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन ।

उपाध्यक्ष बिष्णु पौडेल र महासचिब शंकर पोखरेलको टकरावका कारण एमालेले लुम्बिनी प्रदेशमा नेतृत्व गर्ने अबसर गुमाएको भन्ने कतिपय एमाले कार्यकर्ताकै बुझाइ रहेको छ । एमाले संसदिय दलका नेता लिला गिरी बिष्णु पौडेल निकट मानिनु हुन्छ । एमाले लुम्बिनी प्रदेशको अधिबेसनमा पौडेल निकटका राधाकृष्ण कंडेल र पोखरेल निकटका हरि आचार्य प्यानल नै बनाएर प्रतिश्पर्धामा उत्रनु भएको थियो । झिनो मतअन्तरले कंडेल अध्यक्षमा निर्बाचित हुनुभएको थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद निलम्बनमा रहेकाले अब भने ८६ सदस्य मात्रै कायम रहेका छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४।४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३।३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १ । १ र एक स्वतन्त्र सांसद छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com