‘अमेरिकामा नयाँ पुस्ताले मैले सामना गरेको भेदभावको सामना गर्नु नपरोस्’ : श्रीया तुलाधर


प्रकाशित मिति : चैत्र १२, २०८० सोमबार

श्रीया तुलाधर न्युयोर्कमा माइनोरिटी इम्पारमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक हुन् । कोरोना महामारीभन्दा ठीक अगाडिदेखि सुरु भएको यो गैर नाफामुलक संस्थाको गतिविधि गतबर्षदेखि भने उल्लेख्य देखिएको छ । न्युयोर्कको म्यानटहटनमा मेयर एरिक आडम्सबाट नेपालको झण्डा फहराउने कार्यक्रममा नेतृत्व गर्नेदेखि नेपाली समुदायको शशक्तिकरणका पक्षमा यो संस्थाले काम गर्दै आएको छ भने यसमा श्रीया तुलाधरको सकृय भूमिका रहदै आएको छ । उनी कोरोना महामारीको समयमा न्युयोर्कको नेपाली समुदायमा क्रियाशील युवा स्वयंसेवी समेत हुन् । बाल्यकालमा अमेरिका आएर प्राथमिक तहदेखि अमेरिकामा नै अध्ययन गरेकी श्रीया अहिले न्युयोर्कको नेपाली समुदायमा युवा नेतृत्वको रुपमा स्थापित भइसकेकी छिन् । श्रीया तुलाधरसँग खसोखासको स्तम्भ न्युयोर्क फल्चाका लागि खसोखास सम्पादक दीपक परियारका १० प्रश्न ।

तपाई माइनोरिटी इम्पावरमेन्ट नेटवर्कमार्फत न्युयोर्कको नेपाली समुदायको इम्पावारमेन्टमा लागिरहनुभएको छ । के कुराले प्रेरित गर्यो ?

म सन २००० ताका यहाँको स्कूलमा भर्ना हुदा ५००० बिधार्थी मध्ये म एकजना मात्र नेपाली थिएँ। मैले स्कूलमा धेरै अपहेलनाको सामना गर्नु पर्यो । अति नै भेदभावको मारमा परें। सन २०२१ मा न्युयोर्कको कोभिड १९ भ्याक्सिन सेन्टरमा काम गर्दा मैले महसूस गरे कि २० बर्ष पछि पनि नेपाली समुदाय अझै अदृश्य अल्पसंख्यक समूहको रूपमा भेदभावमा परिरहेको रहेछ। यो देखेर मैले हाम्रो समुदायलाई कोभिड महामारीको समयमा सकेसम्म मद्दत गर्ने प्रयास गरें तर पर्याप्त महसुस भएन। मलाई लाग्यो कि हाम्रो समुदायलाई थप भिजिबीलीटीको आवश्यक छ । र एक द्विभाषी युवा पुस्ताको रूपमा म अगाडि आउनु पर्छ र हाम्रो समुदायको अधिकारको वकालत गर्नुपर्छ भन्ने लाग्यो । ताकि नयाँ पुस्ताले मैले सामना गरेको भेदभावको सामना गर्नु नपरोस्।

नयाँ पुस्ताले समुदायका विषयमा कम चासो राख्ने गरेको पाइएको छ । उनीहरुलाई पनि तपाईजस्तै समुदायसँग जोड्न के कस्तो पहल गरिरहनुभएको छ ?

नयाँ पुस्तालाई हाम्रो समुदायमा संलग्न गराउनको लागि मैले उनीहरूलाई कार्यक्रमहरूमा स्वयंसेवक हुन आग्रह गरिरहेको छु। मैले हरेक माइनोरिटी इम्पावरमेन्ट नेटवर्कको कार्यक्रमहरूमा युवाहरूलाई प्रस्तुतकर्ताको रूपमा राखेकी छु। मैले नेपाली अमेरिकी युवा समूह पनि स्थापना गरेकी छु जसमा म संस्कृति, पहिचान र मानसिक स्वास्थ्य जस्ता विषयहरूमा नेटवर्किङ बैठकहरूको नेतृत्व गर्छु। म आशावादी छु कि मसँग धेरै युवाहरू जोडिनेछन् जसले गर्दा हाम्रो समुदाय अझ माथि पुग्नेछ।

समुदायमा काम गर्ने सन्दर्भमा न्युयोर्कका नेपाली समुदायका कस्ता कस्ता समस्याहरु छन् ? समाधानका उपायहरु के हुनसक्छन् ?

नेपाली हरूको पहिलो समस्या भनेको नै यहॉको कुनै पनि क्षेत्रको कामकुरा बारेमा नियम कानूनको अनबिज्ञता हो । जस्तै शिक्षा, स्वास्थ्य, कर, मानवाधिकार लगायतका कुराहरूमा धेरै नियम कानून थाहा छैन । समाधानको लागी हामीले सकेको जति जानकारीहरू समुदायमा ल्याउने गरेका छौ। यो कुरामा म नेपाली समुदायका लागी आआफ्नो तर्फबाट काम गरिरहनु भएका सबै संस्थाहरू लाई धन्यबाद दिन चाहन्छु। बिषेश गरेर खसोखासले कानूनी श्रोतहरु उपलब्ध गराउँदा नेपाली समुदायलाई धेरै राहत पुगेको छ।

भाषिक न्याय, सरकारी श्रोतमा पहुच, प्रतिनिधित्व लगायतका विषयमा नेपाली समुदायले संघर्ष गरिरहेको देखिन्छ, यस्ता समस्या समाधानका लागि तपाईहरुले कस्ता पहल गरिरहनुभएको छ ?

हामीले नेपाली समूदायलाई समेटेर बिभिन्न सरकारी कार्यालयहरूमा गएर त्यहॉका उच्च अधिकारीहरूसंग बसी हाम्रो यी समस्या हरूको बारेमा छलफल गरीरहेकाछौ । कैयन सरकारी सूचनाहरूलाई नेपाली भाषामा पनि उपलब्ध गराउन सफल भएका छौ। साथै नेपाली समुदायको लागी बिभिन्न आवश्यक जानकारी दिने श्रोत मेला पनि गर्दैछौं।

म्यानहटनमा न्युयोर्कको झण्डा फहराउने कार्यक्रममा न्युयोर्कका मेयर एरिक आडम्सका साथमा श्रीया तुलाधर । (फोटो: माइकल एप्पलटन र मेयरल फोटोग्राफी कार्यालय)

नेपाली समुदायलाई अमेरिकन मुलधारमा भिजिबल बनाउनका लागि तपाईहरुले नेपालको झण्डा फहराउनेदेखि अमेरिकन राजनीतिज्ञहरुमाझ नेपाली समुदायका विषयहरु लैजानेसम्मका काम गर्नुभएको छ, नेपाली समुदायप्रति उनीहरुको दृष्टिकोण कस्तो पाउनुभयो ?

सुरुमा उनीहरूलाई हाम्रो नेपाली अमेरिकी समुदायको बारेमा धेरै थाहा थिएन तर विभिन्न सरकारी अधिकारीहरूसँग काम गरेपछि सबैजना हाम्रो जागरूकताबाट धेरै प्रभावित भएका छन् । हाम्रो समुदायप्रति धेरै सकारात्मक छन्। उनीहरूले हाम्रो समुदायलाई अमेरिकामा सबैभन्दा छिटो बढ्दो दक्षिण एसियाली समुदायको रूपमा मान्यता दिएका छन् । हाम्रो इमानदारी, वफादारी र क्षमताको प्रशंसा गरेका छन्।

अमेरिका आइसकेपछि पनि कतिपय नेपालीहरु नेपालकै राजनीतिमा अल्झिरहेको देखिन्छ, नयाँ पुस्तामा त्यसको प्रभाव कस्तो छ ?

नयाँ पुस्तामा यसको प्रभाव मैले अहिलेसम्म देखेको छैन। मलाई लाग्छ हामी हाम्रो शिक्षा र उज्ज्वल भविष्य निर्माणमा बढी केन्द्रित छौं।

नेपाली समुदायको कमजोरी के कुरामा देख्नुभयो? र शक्ति के कुरामा देख्नुभयो ?

मेरो विचारमा, हाम्रो नेपाली अमेरिकी समुदायको कमजोरी भाषा अवरोध हो। सीमित भाषा क्षमताको कारणले गर्दा, हाम्रो समुदायले आवश्यक पर्दा मद्दत माग्न वा हामीलाई उपलब्ध स्रोतहरूको बारेमा जानकारी लिन हिचकिचाउँछ। यो भाषाको बाधा मात्र होइन, आत्मविश्वासको बाधा पनि हो। तर यसको विपरित हाम्रो बल र शक्ति हाम्रो एकता हो। हामी संख्यामा थोरै भए पनि हाम्रो एकता बलियो छ । हाम्रो एकताको कारणले गर्दा हामीले केही वर्षभित्र अमेरिकामा धेरै प्रगति गरेका छौं र निकट भविष्यमा हामी अझ धेरै प्रगति गर्नेछौं भन्ने मलाई विश्वास छ।

समुदायको हितमा सकृय भइरहँदा तपाईले अग्रजहरुको सहयोग र प्रेरणा कत्तिको पाइरहनुभएको छ?

म सानैदेखि नेपाली अमेरिकी सामुदायिक कार्यमा संलग्न छु । हाम्रो समुदायले मलाई सधैं सहयोग गरेको छ। न्युयोर्कका मेयरबाट पहिलो पटक नेपाली अमेरिकी झण्डा फहराएपछि नेपाली समुदायका अग्रजहरूबाट मात्र नभई अन्य समुदाय र अन्तर्राष्ट्रिय समुदायका अग्रजहरूबाट पनि थप सहयोग, हौसला र उत्साह पाइरहेको छु । म यो सकारात्मक प्रतिक्रियाका लागी धेरै आभारी छु।

अमेरिकाको मुलधारको राजनीतिमा नेपाली अमेरिकनको नयाँ पुस्ता आउनु कत्तिको जरुरी छ ?

अब्राहम लिंकनले भनेजस्तै भविष्यको भविष्यवाणी गर्ने सबैभन्दा राम्रो तरिका यसलाई सिर्जना गर्नु हो। मेरो विचारमा हाम्रो समुदायले भविष्यमा राम्रो प्रतिनिधित्व र अवसरहरू पाउनको लागि हाम्रो नयाँ पुस्ता अमेरिकी राजनीतिमा आउनु अत्यन्तै जरुरी छ।

भविश्यमा अमेरिकन राजनीतिमा पनि अगाडि आउने योजना बनाउनुभएको छ कि ?

म अहिलेको लागि हाम्रो नेपाली अमेरिकी समुदायको सेवा गर्न पूर्ण रूपमा समर्पित छु। भविष्य समयले बताउनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com