मस्कोमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३, संदिग्ध ११ जना पक्राउ


प्रकाशित मिति : चैत्र १०, २०८० शनिबार

मस्कोको एक लोकप्रिय कन्सर्ट स्थल परिसरमा शुक्रबार भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । घटनामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरिएको छ । घटनाको जिम्मेवारी आईसीसले लिएको छ । राष्ट्रपति पुटिनले शनिबार एक टेलिभिजन प्रसारणमा स्तब्ध राष्ट्रलाई सम्बोधन गर्दै नरसंहारलाई रक्तपातपूर्ण बर्बर आतंकवादी कार्य भनेर आलोचना गरेका छन् भने २४ मार्चलाई शोकको दिन घोषणा गरेका छन् ।

सशस्त्र व्यक्तिहरूले स्वचालित हतियारको साथ फायरिङ गर्नुका साथै बम फ्याँकेपछि आगो सुरु भएको थियो । आक्रमणपछि मानिसहरूको भीड एकै ठाउँमा जम्मा भएको, चिच्याइरहेको र कुसनका सिटहरू यत्रतत्र छरिएको देखिएको थियो । एक सशस्त्र व्यक्तिले बन्दुक चलाउँदै स्थल भित्र प्रवेश गरेको भिडियोमा देखिएको थियो । घटनापछि ७० भन्दा बढी एम्बुलेन्स टोली र डाक्टरले पीडितलाई सहयोग गरिरहेका थिए ।

करिब १०० जनालाई अग्निनियन्त्रकहरूले भवनबाट बाहिर निकालेका थिए । उद्धारकर्ताहरूले मानिसहरूलाई छतबाट निकाल्न काम गरिरहेका थिए । मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई भयानक त्रासदी भनेका छन् ।

यस महिनाको सुरुमा, रसियामा रहेको अमेरिकी दूतावासले कन्सर्टहरू सहित अतिवादीहरूले मस्कोमा ठूला जमघटहरूलाई लक्षित गर्ने आसन्न योजनाहरू बनाएको भन्ने रिपोर्टहरू अनुगमन गरिरहेको बताएको थियो । दूतावासले अमेरिकी नागरिकहरूलाई ठूलो जमघट नगर्न चेतावनी दिएको थियो ।

रूसको संघीय सुरक्षा एजेन्सीलाई मंगलबारको भाषणमा पुटिनले मस्कोमा सम्भावित आतंकवादी हमलाहरूबारे अमेरिकी दूतावासको चेतावनीलाई उत्तेजक भन्दै आलोचना गरेका थिए । यी कार्यहरू पूर्ण रूपमा ब्ल्याकमेल र रुसी समाजलाई डराउन दिने र अस्थिर पार्ने मनसाययुक्त भएको उनले बताएका थिए ।

मस्कोमा रहेको अमेरिकी दूतावासले शुक्रबार आतंकवादी घटनाको बारेमा आफूहरु जानकार रहेको उल्लेख गर्दै अमेरिकी नागरिकहरूलाई रुस भ्रमण नगर्न सल्लाह दिएको छ। दुई वर्षभन्दा बढी समयदेखि रुससँग युद्धमा फसेको युक्रेनले आक्रमणमा कुनै संलग्नता नभएको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com