सुन तस्करीको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलबस्तुबाट पक्राउ


प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार

पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको प्रहरी महानिरिक्षक बसन्त कुबरले जानकारी दिनुभयो । उहाँलाई रुपन्देहीको भैरहवा हुदै काठमाडौं लगिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो ।

इलेक्ट्रोनिक चुरोट भेप भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ । ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगको सिफारिस अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आउनु भएको थियो । महरा रोल्पा जाँदै गर्दा कपिलबस्तुबाट सोमबार बिहान पक्राउ पर्नुभएको हो ।

महराका छोरा राहुल महरा विद्युतीय चुरोट भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनु भएको छ । उहाँबिरुद्ध संगठित तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com