धार्मिक र पौष्टिक महत्वको जौँ बाली लोप हुँदै


प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार

धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौँ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ । मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रूपमा मानिने र धार्मिककार्यहरूमा अनिवार्य ठानिने कृषिउपज जौँ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन् ।

बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले जौँ खानका लागि पौष्टिक र धार्मिककार्यका लागि अनिवार्य चाहिने महत्त्वपूर्ण बाली भएको बताउनुभयो । त्यसका साथै गाईभैँसीका लागि पनि जौँ अत्यन्त उपयोगी खुराक भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धार्मिक महत्वसमेत रहेको जौँको मानवलाई मात्र नभएर पशुचौपायालाई समेत निकै उपयोगी खाद्य पदार्थ हो, जौँलाई भुटेर दिएपछि यसले दुहुनु गाईभैँसीलाई निकै फाइदा दिने गर्दछ ।”

मालिका गाउँपलिका–६ का टेकबहादुर पुनका अनुसार पहिला गाउँमा चैतको महिना निकै भोकमरी हुन्थ्यो । गाउँमा कतै चामल पाइँदैन थियो । त्यतिबेला यहाँका स्थानीयले दही र महीसँगै जाँैको सातु बनाएर खाने गरेको उहाँले बताउनुभयो । मानव स्वास्थ्यलाई आवश्यक हुने सबैखालको प्रोटिन जौँबाटै पाइने गरेको भए पनि यहाँका स्थानीयलाई जौँका बारेमा ज्ञान नहुँदा पछिल्लो समय खेती विस्तारै लोप हुँदै गएको पुनले बताउनुभयो ।

म्याग्दीका बेनी नगरपालिकाका साथै मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका सबै वडामा फल्ने जौँ पछिल्लो समय किसानले लगाउनै छाडेपछि लोप हुने अवस्थामा पुगेको मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताउनुभयो । बाथ, मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, एनेमिया, कब्जियत, मुटुका बिरामी भएकालाई जाँैले निकै फाइदा दिने गरेको भए पनि यहाँका स्थानीयले जौँ लगाउन छाडेर गहुँखेती गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालबालिकाको स्वास्थ्यमा पनि जौँले निकै फाइदा दिने गरेको छ । जौँ भुटेर सातुका रूपमा दिने गरेपछि बालबालिकाको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन् । विवाह र देउताको पूजापाठमा समेत जौँ प्रयोग हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् । म्याग्दीमा एक हजार हेक्टर जमिनमा जौँखेती लगाउने गरेकामा पछिल्लो समय घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com