एकै परिवारले बिक्री गर्‍यो ३५ लाखको सुन्तला


प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार

स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाउनुभएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताउनुभयो ।

उहाँले करिब एक हजार सुन्तलाको बोट हुर्काएर छोराहरूलाई हस्तान्तरण गरेको बताउनुभयो । भण्डारीले करिब ४० वर्षदेखि परम्परागतरूपमा सुन्तला लगाउँदै आउनुभएको हो । “चिन्दै नचिनेका मान्छेहरू स्याङ्जाबाट आएर यहाँ सुन्तला हुन्छ भनेर हौसला दिनुभयो”, देवीप्रसादले भन्नुभयो, “पहिला परम्परागतरूपमा लगायौँ भने २० वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छौँ ।” उहाँले हालसम्म छोराहरूले तीन हजार सुन्तलाका बोट पुर्याएको दाबी गर्नुभयो ।

देवीप्रसादका छभाइ छोरामध्ये तीनभाइले सुन्तलाखेती गर्दै आएका छन् । भण्डारीको काइँलो छोरा ताराप्रसादले यस वर्ष मात्रै रु २० लाखको सुन्तला उत्पादन गरेर बिक्री गर्नुभयो । उहाँले अघिल्लो वर्ष रु १६ लाखको सुन्तला उत्पादन गर्नुभएको थियो । यस वर्ष जेठो छोरा डोलराज भण्डारीले रु १० लाख र साइँलो छोरा कमलले रु पाँच लाखको सुन्तला उत्पादन गरेर बिक्री गर्नुभयो । उहाँहरूले पनि अघिल्लो वर्ष करिब रु १० लाखको सुन्तला बिक्री गर्नुभएको थियो ।

तीन वर्षपहिले सिम्रन कृषि तथा पशुपालन फार्म दर्ता गरेरै सुन्तलाखेतीलाई व्यवस्थित गरेको ताराप्रसादका छोरा कविराजले बताउनुभयो । उहाँका अनुसार हाल आफ्नो बगैँचामा उत्पादन दिने एक हजार बोट छन्भने बिरुवा र उत्पादन दिने तयारीका करिब एक हजार बोट छन् । एक हजार बोट नयाँ बिरुवा लगाउन खाल्डा तयारी अवस्थामा रहेको कविराजले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले पुराना बोट मासेर नयाँ लगाएका कारण यो वर्ष सुन्तला उत्पादन सोचेजस्तो नभएको सुनाउनुभयो । उहाँले काउली, बन्दा, अकबरे खुर्सानीलगायत तरकारी बिक्री गरेर वार्षिक रु तीन लाख बिक्री गर्दै आएको बताउनुभयो । “खेती किसानीमा सबै परिवार आबद्ध छौँ । काम गरेअनुसारको प्रतिफल पनि छ”, कविराजले भन्नुभयो, “तर पनि कहिलेकाहीँ सबै विदेश जाँदा विदेश जाने रहर जाग्न थालेको छ ।”

कविराजको हजुरआमा उमादेवी भण्डारीले विदेशको कमाई जित्न सक्ने यहाँ सुन्तला उत्पादन हुने बताउनुभयो । “यहाँ सुनसरह सुन्तला फल्छन् तर पनि नातिहरू विदेश जान्छौँभन्दा मन अमिलो हुन्छ”, उहाँले दुखेसो पोख्नुभयो, “हामीलाई सम्पत्ति पुग्दो छ, केही चाहिएको छैन, बुढेसकालमा छोरानातिसँगै बस्न पाए मनै हलुङ्गो हुन्थ्यो ।”

यहाँ उत्पादित सुन्तला काठमाडौँ, बुटवल, पोखरा, कावासोती, इटहरी, धादिङ, इनरुवालगायत जिल्लामा निर्यात हुने गरेको छ । ठेकेदारहरू गाडी नै लिएर सुन्तला खरिद गर्न आउँछन् । यहाँका किसानले पनि ‘ग्रेडिङ’ गरिएको सुन्तला रु ६० देखि एक सय २० सम्ममा ठेकेदारलाई थोक मूल्यमा बिक्री गर्ने गरेका छन् ।

किसान ताराप्रसादले सिँचाइको चरम अभावका कारण यहाँको माटो र हावापानीअनुसार सुन्तला उत्पादन नभएको गुनासो गर्नुभयो । “सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो,” उहाँले भन्नुभयो, “जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि सरकारी निकायबाट त्यति राम्रो सहयोग पाएका छैनौँ ।” ताराप्रसादले सिँचाइ, बिरुवा, उपचार, अनुदान, बजारीकरण, परामर्शलगायत सहयोग पाए आफूहरूलाई ठूलो राहत मिल्ने बताउनुभयो ।

सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको बताउनुभयो । उहाँले अघिल्लो वर्ष सुन्तला पकेट क्षेत्रमा आबद्ध ६० जना किसानले रु दुई करोड ५० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेको दाबी गर्नुभयो ।

विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपर जोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ । ती निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन् । यहाँ सुन्तला आइपिएम पाठशालासमेत सञ्चालनमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com