कफी खेतीबाटै बार्षिक १३ लाख आम्दानी , स्थानीय सरकार प्रोत्साहन गर्दै


प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार

इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बन्नुभएको छ । उहाँ बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिनुहुन्छ । उहाँले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाउनुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गर्नुभएका व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गर्नुभएको छ । उहाँको बगानमा अहिले ६ हजार कफीका बोट छन् ।

कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ । उहाँले कफीखेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उहाँको अनुभव छ । विसं २०७४ देखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उहाँले व्यावसायिक कफीखेती गर्दै आउनुभएको छ ।

उहाँले याममा बिरुवा बिक्रीबाट रु छ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । “मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा रु ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बिरुवाबाट मात्र करिब रु छ लाख हात पार्ने गरेको छु ।” बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उहाँले बताउनुभयो ।

कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उहाँले बताउनुभयो । कफीखेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उहाँको भनाइ छ । माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन् ।

पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन् । उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक कफीखेती सुरु गर्न थालेका छन् । उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् । माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको बिरुवा रोपिएको गाउँपालिकाको तथ्याङ्क छ ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफीखेती सुरु गरेका छन् ।

जिल्लाका अधिकांश क्षेत्रमा ‘अरविका’ जातको कफी लगाइएको छ । कफीको पाकेको दाना चेरी किसानबाट प्रतिकिलो रु एक सय पाँच, प्रशोधन गरिएको पार्चमेन प्रतिकिलो रु पाँच सयदेखि रु छ सयसम्ममा करोबार हुने गरेको छ । पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु एक हजार आठ सयका दरले बिक्री हुने गरेको छ ।

धुलो बनाउँदा प्रतिकिलो रु २ हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ । व्यावसायिक कफीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदान दिन थालेको छ । गाउँपालिकाले अनुदान दिन थालेपछि व्यावसायिक कफीखेती विस्तारमा किसान आकर्षित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com