किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब


प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार

गण्डकी, तनहुँको म्याग्दे गाउँपालिका(३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकालदेखि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित तीर्थस्थलमध्येको एक हो । प्राकृतिकरुपमा शिलामा कुँदिएका देवीका मूर्तिसँगै रहेका सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृति नै यहाँका विशेष आकर्षण हुन् ।

विशेषतः रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासले यहाँको गरिमा र महत्व अझै बढाएको स्थानीयवासी बताउँछन् । अकला मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि पछिल्ला समयमा सरकारी चासो र चर्चा बढिरहेको छ भने विभिन्न सामाजिक सङ्घसंस्थाले यसको प्रवद्र्धन र विकासलाई जोड दिएका छन् ।

पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४४औँ शृङ्खला किल्चोकस्थित अकला मन्दिर र आसपासका पर्यटकीय गन्तव्यलाई लक्षित गरी सम्पन्न गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताउनुुभयो ।

“हामी प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सम्भावना भएर पनि प्रवद्र्धनका दृष्टिले पछाडि परेका गन्तव्यलाई उजागर गर्नु हाम्रो अभियानको मुख्य उद्देश्य हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरामा रही विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्ति क्लबमा आबद्ध भएको बताउँदै उहाँले पछिल्ला समयमा हाइकिङप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको बताउनुुभयो । हाइकिङको ४४औँ संस्करणमा ३७ जना सहभागी बनेको जानकारी दिँदै अध्यक्ष रानाभाटले पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–३ धयेँरे चोकबाट सुरु भएको हाइकिङ बडगाउँ,

किल्चोक अकला, बहपुर गाउँ, थानतिङ हुँदै जामुने कमलकोटीसम्म गरिएको बताउनुभयो । स्थानीयको जागरुकता हुने हो भने एकदिवसीय हाइकिङका लागि धयेँरेदेखि जामुने कमलकोटीलाई उपयुक्त गन्तव्य बनाउन सकिने उहाँको भनाइ छ ।

प्राचीनकालदेखि यस क्षेत्रकै महत्वपूर्ण धार्मिक आस्था एवं विश्वासको केन्द्र बनिरहेको अकला मन्दिर र आसपासका क्षेत्रलाई उजागर गर्न हाइकिङ महत्वपूर्ण बनेको उल्लेख गर्दै उहाँले पछिल्ला समयमा रमणीय गाउँहरू मानवविहीन बन्दै जानु गम्भीर चुनौतीका रुपमा रहेको बताउनुुभयो ।

यहाँस्थित मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोरखालगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

परापूर्वकालमा यही किल्चोक अकला हुँदै सेती नदी बग्न थाल्दा देवीको शक्तिका कारण यहाँबाट रोकिएर अर्को मार्गबाट बग्न थालेको किंवदन्ती रहेको स्थानीय समाजसेवी हरेराज बगालेले बताउनुुभयो ।

मन्दिरको महिमा र गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औँ कोटीहोम लगाउनुभएको थियो । समय–समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व एवं धार्मिक शक्ति रहेको बताउने गरेको स्थानीय बताउँछन् ।

गत वर्ष पुनःनिर्माण गरिएको अकला मन्दिरको उद्घाटन समारोहमा भारतको काशीदेखि आउनुभएका जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले यस तीर्थस्थलको विशिष्ट महिमा रहेको बताउनुले पनि यसको धार्मिक महत्वलाई थप उजगार गरेको स्थानीयवासीको तर्क छ ।

रातको समयमा मन्दिरको घन्टा आफैँ बज्नु, मन्दिर परिसरस्थित कटहरको बोटमा बाह्रैमहिना कटहर फल्नु, मन्दिरको पारी रहेको रुद्रदेवी मन्दिरको विशाल शीलालाई जो कोहीले पनि हल्लाउन सक्नुलाई स्थानीयले यहाँको दैवी शक्तिका रुपमा लिने गरेका छन् ।

मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँसहित आसपासका कास्की, स्याङ्जा, लमजुङलगायतका स्थानबाट दर्शनार्थी भाकलसहित पूजाआजा गर्न आउने गरेको बगालेले बताउनुुभयो ।

परापूर्वकालदेखि व्यक्तिगत वा पारिवारिक जस्तोसुकै समस्यामा पनि अकलादेवीलाई सम्झेपछि समस्या समाधान हुने, बोली आउन नसकेका बालबालिकाको बोली आउने आदि विश्वासका कारण पनि यस तीर्थस्थलप्रतिको आस्था एवं विश्वास निरन्तर बढ्दै आएको स्थानीयवासीको तर्क छ ।

मन्दिरको संरक्षण र विकासमा जोड दिँदै पछिल्लो समयमा मन्दिरसहित शिवालय, सत्तल आदि निर्माण गरिएको छ । धार्मिक महत्वका गन्तव्यहरूको प्रवद्र्धन गर्न सकेमात्रै पनि धार्मिक पर्यटनका गतिविधि बढ्ने र त्यसलेस्थानीयलाई फाइदा पुग्ने पत्रकार सञ्जय आचार्यले बताउनुुभयो ।

“हामीले हाम्रा ऐतिहासिक एवं धार्मिक सम्पदालाई अझै पनि पर्यटनसँग जोड्न सकेका छैनौँ”, आचार्यले भन्नुभयो, “आफ्ना स्थानको महत्वलाई उजागर गर्दै पर्यटकीय प्रवद्र्धनका लागि पहिलो सक्रयता त्यहाँ बसोबास गर्ने स्थानीयवासीको नै हुन्छ ।”

पछिल्लो समय अधिकांश रमणीय गाउँ बस्तीविहीन बन्दै जानु गम्भीर चुनौती बनेको बताउँदै उहाँले धार्मिक एवं ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्दै उत्पादन बढाउनसके बढ्दो युवा पलायनलाई रोक्न सकिने धारणा राख्नुुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com