बाँकेमा नक्कली औषधि पसल सिल, नक्कली बिक्रेता नियन्त्रणमा


प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार

बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ । डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले आज पक्राउ गरेको छ ।

अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको टोलीले नक्कली औषधि पसल सञ्चालक लखेरलाई पक्राउ गरी पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । प्रजिअ पोखरलेका अनुसार पक्राउ गरिएका विकास लखेरले औषधि बिक्री गर्ने योग्यताको प्रमाणपत्र देखाउन सकेका थिएनन् ।

उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको प्रजिअ पोखरेलले बताउनुभयो । आरोपी लखेरको पसलमा करिब ७५ प्रतिशत औषधि म्याद गुज्रिएको अवस्थामा समेत भेटिएको छ ।

“म्याद गुज्रिएको भन्दा बाहेकका औषधिहरूको उपयोग म्यादमा हातले नै ‘ओभर राइट’ गरेको फेला परेको छ,” प्रजिअ पोखरेलले भन्नुभयो, “उपयोग गर्न निषेध गरिएको भिगो ट्रप्पल एक्स, डर्मिकेम र कम्बिनेसनमा भएका अन्य औषधिहरू पनि सो पसलमा बेच्ने गरेको भेटिएको छ । अनुमति बिना सञ्चालित पसल सिल गरेको छ ।”

बिक्रेता विकास लखेरलाई औषधि बिक्री वितरणसम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रजिअ पोखरेलले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com