लोकसेवा आयोगले किन पाठयक्रम र परीक्षा प्रणाली सुधार गर्ने सोच बनायो ?
प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार
लोकसेवा आयोगले विद्यमान भर्ना छनोट, परीक्षण प्रविधि, पाठ्यक्रम र परीक्षा सञ्चालनसम्बन्धी जनशक्ति व्यवस्थापनमा समयानुकूल सुधार गर्ने भएको छ । आयोगप्रति विश्वास कायम राख्न निष्पक्ष र स्वच्छरुपमा योग्यताको आधारमा भर्ना तथा छनोट हुने सिद्धान्तलाई पूर्णरुपले पालना गर्ने आयोगले जनाएको छ ।
लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा सङ्घीय शासन प्रणालीको संस्थागत विकास र सुशासनमा योगदान पु¥याउन उपयुक्त उम्मेदवार समयमै छनोट र सिफारिसको सुनिश्चिता गर्ने र लोकसेवा आयोगबाट स्थापित सिद्धान्त, मूल्य, मान्यता, कार्यप्रणाली र असल अभ्यासलाई निरन्तर अवलम्बन गर्ने उल्लेख गरिएको लोकसेवा आयोगका सदस्य वीरबहादुर राईले जानकारी दिनुभयो ।
‘लोकसेवा आयोगबाट पदपूर्ति गरिने विभिन्न सेवा, समुह, उपसमूह, श्रेणी वा तह र पद प्राविधिक र अप्राविधिकका पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने, आयोगबाट सम्पादन गरिने कार्यमा कार्यगत सम्बन्ध कायम गर्दै प्रभावकारिता अभिवृद्धि गर्न असल अभ्यासको आदानप्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आयोगको परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी खर्च मापदण्डमा एकरुपता कायम गर्ने र समयसापेक्ष बनाउँदै लैजाने, लोकसेवा आयोगबाट सङ्घीय कानुनबमोजिम अवलम्बन गरिएका सिद्धान्त तथा मापदण्डबमोजिम कार्यसम्पादनको सुनिश्चितताका लागि सूचक तयार गरी सोबमोजिम स्वमूल्याङ्कन एवं आवश्यकताअनुसार समकक्षी समीक्षा गर्नेजस्ता १३ निर्णय सम्मेलनले जारी गरेको छ ।






