अम्रिसोको मूल्य घटेपछि व्यावसायिक खेती गर्ने किसान चिन्तामा


प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार

अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् । भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ ।

गत वर्ष प्रतिकेजी १ सय २० देखि १ सय ३० सम्ममा बिक्री भएको अम्रिसोको फूल कुचो अहिले प्रतिकेजी रु ६५ मा मात्र बिक्री भएको जनाइएको छ । माई नगरपालिका–९ का पूर्णकुमारी साउदेनले कुचो किन्नका लागि व्यापारी घरैसम्म आएका र सस्तो मूल्यमा कुचो बेच्न बाध्य भएको बताउनुभयो ।

“गत वर्ष यामको सुरुमा नै प्रतिकेजी १ सय १० का दरले कुचो बेचेको थिएँ, पछि १ सय ३० सम्म पुगेको थियो, यस वर्ष प्रतिकेजी रु ६५ का दरले बेच्न बाध्य भइयो”, उहाँले भन्नुभयो, । अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमा नै आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गर्ने गरेका छन् । बिरुवाका लागि भइरहेको बोटबाटै अर्को बिरुवा निकाल्न सकिने, गोडमेलका लागि झन्झट नहुने भएका कारण कम लगानीमा राम्रो आम्दानी गर्न सफल भएपछि किसान अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् ।

किसानले यसको पात र कमलो डाँठ बोट डालेघाँसका लागि प्रयोग हुने र फूल कुचो छुट्टाछुट्टै मूल्यमा बिक्री गर्ने गरेका छन् । दोमट माटो भिरालो जग्गामा अम्रिसो खेती फस्टाउने गरेकै कारण किसानले प्रसस्त मात्रामा कुचो उत्पादन गर्ने गरेका छन् । अहिले एक जना किसानले ४ हजार केजीसम्म कुचो बिक्री गर्ने गरेका छन् । यस वर्षको सुरुमा प्रतिकेजी रु ७५ देखि ८० सम्ममा कुचो किनबेच भए पनि अहिले मूल्यमा झनै गिरावट आएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्यरुपमा अम्रिसो खेती हुने गर्दछ । अम्रिसोको कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काँकटभिट्टा हुँर्दै भारत निकासी हुने गरेको छ । जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन अम्रिसो उत्पादन हुने तथ्याङ्क छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीको अनुमान छ । घर, कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com