नेपालले वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि जोर्डनको सामना गर्ने


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप वाफको फाइनलमा प्रवेश गरेको छ । लेबनानविरुद्ध पुनरागमन जित निकाल्दै मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा नेपाल १–० ले पछि परेको अवस्था उल्ट्याउँदै फाइनल यात्रा तय गरेको हो ।

नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ । यसअघि जोर्डनले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गरे । इन्जुरी समयको अन्तिम मिनेटमा प्रीति राईले उत्कृष्ट गोल गरेपछि नेपालले २–१ को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले इराकमाथि ५–० गोलको सजिलो जित हात पारेको थियो । समूहगत चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com