मल्लको छिटो शतकको किर्तिमान नामिबियाका निकोलले तोडे,पहिलो खेलमा नेपाल पराजित
प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार
त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । जितका लागि नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउनेक्रममा नेपाल १८ दशमलव पाँच ओभरमा एक सय ८६ रनमा समेटियो । सुरुआती ब्याटिङ कमजोर रहेको नेपालले मध्यक्रममा भने केही सम्हालिएर ब्याटिङ गरे पनि जित निकाल्न भने सकेन ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाए । उनले तीन चौका र तीन छक्का प्रहार गरे । तेस्रो विकेटका लागि कप्तान पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । मल्लले ३२ रन बनाए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो । नामिबियाका लागि जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा सर्वाधिक एक सय एक रनको योगदान दिए ।
इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडेका छन् । उनले ३३ बलमै शतक पूरा गरे । यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।
बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिए भने करण केसी र अभिनास बोहोराले समान एक÷एक विकेट लिए । जारी प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्डबीच विहान ११ः३० बजे प्रतिस्पर्धा हुनेछ ।






