न्युयोर्कको क्वीन्स उडसाइडमा लङ आइल्याण्ड ट्रेनको ठक्करबाट एकजनाको मृत्यु
प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार
आइतबार बिहान लङ आइल्याण्ड रेल रोड ट्रेनले क्वीन्सका एक व्यक्तिलाई ठक्कर दिंदा ती व्यक्तिको मृत्यु भएको छ । ६२ वर्षीय जेम्स कोनरलाई क्वीन्सको वुडसाइड स्टेशनमा ट्रेनले ठक्कर दिएको थियो।
कोनरको ठक्करबाट लागेको चोटले मृत्यु भएको थियो भने आपतकालिन स्वास्थ्य टोलीले उनलाई घटनास्थलमा नै मृत घोषित गरेका थिए । उनी कसरी ट्र्रेनका लिकमा पुगे भन्ने प्रष्ट छैन । तर यस मामिलामा कुनै अपराधको शंका गरिएको छैन ।

यस घटनाले मेन लाइन प्रयोग गर्ने लङ आइल्याण्ड रेल रोड ट्रेनहरूको लागि बिहानमा सेवामा ढिलाइ भएको थियो । साथै सेवा परिवर्तनहरूको श्रृंखला निम्त्याएको थियो । यद्यपि ती समस्या केहीसमयमा नै समाधान गरिएको थियो ।
सन् २०२० मा यही स्थानमा नेपाली महिलाको मृत्यु भएको थियो । सिन्धुपाल्चोक घर भई न्युयोर्कमै बस्दै आएकी पारू श्रेष्ठको लङ आइल्याण्ड रेल रोडको ट्रेनको ठक्करबाट निधन भएको थियो । कामबाट फर्केपछि उनी राती ११ बजेतिर घरबाट निस्केकी थिइन् भने त्यसको भोलिपल्ट विहान ५ बजे ट्रेनको ठक्करबाट निधन भएको हो । त्यतिबेला न्युयोर्कमा लगातार पानी परिरहेको थियो ।






