बाहिरी चक्रपथमा जग्गाको मूल्य अकासियो


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

आठ लेनको बाहिरी चक्रपथ निर्माण गर्ने पक्कापक्की भएपछि चोभार, गाम्चा र सतुङ्गलको ६.१ किलोमिटर ट्र्याक नजिकका जग्गाको मूल्य अकासिएको छ । सात हजार रोपनी जग्गामा करिब नब्बेजना जग्गाधनीले सहयोगात्मक सुझाव दिएपछि बाहिरी चक्रपथ निर्माण हुन लागेको खबरले मूल्यमा तलमाथि भएको हुनसक्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले बताए । ‘बाहिरी चक्रपथ पर्ने भयो भनेर केहीले आफूखुसी मूल्य बढाएर बेचेका छन्, कतिपयले लाखौं खर्च गरेर करोडौं फाइदा हुने लोभमा पनि जग्गा किनेका छन्,’ उनले भने, ‘बाहिरी चक्रपथ र सिस्टर सिटीमा पर्ने जग्गालाई केही जग्गा कटौती गर्दै पुनः जग्गाधनीलाई जग्गा दिने भएपछि मूल्य बढेको हुनसक्छ ।’

उनका अनुसार बाहिरी चक्रपथ जग्गा एकीकरण समिति बनिसकेको छ । बाहिरी चक्रपथ र सिस्टर सिटीमा पर्ने जग्गामा भौतिक निर्माणमा फेरबदल र प्लट मिलानका कामबाहेक जग्गा किनबेच गर्न सकिने भएकाले पनि उक्त कार्य बाहिरी चक्रपथ पर्ने उपत्यकाका तीनवटै जिल्लामा भएको हुनसक्ने बताए ।

प्रमुख तिवारीका अनुसार पहिलो चरणको निर्माणका लागि चोभार, गाम्चा र सतुङ्गलको ६.१ किलोमिटरभित्रका जग्गा एकीकरणका लागि नक्सा तयार भइसकेको जानकारी दिए । मन्त्रालयले अन्तिम टुङ्गो लगाएपछि एकीकरण हुने जग्गामा केही फेरबदलसहित बाहिरी चक्रपथको पहिलो चरणको काम थालनी हुने उनले बताए ।

कीर्तिपुर नगरपालिकाका सूचना अधिकृत सुजिन्द्र महर्जनले बाहिरी चक्रपथ निर्माण हुने पक्का भएपछि किनबेच कम भएको छ । बेचिएका जग्गाहरू पनि अधिक मूल्यमा बेचिएको उनले बताए । उनका अनुसार जग्गाधनीले भनेजति मूल्य दिन हाउजिङ कम्पनीबीच एक प्रकारले अहिले प्रतिस्पर्धा नै चलेको गोरखापत्रमा खबर छ ।

५० मिटरको फराकिलो बाहिरी चक्रपथ र दुवैतर्फ २५० मिटरका जग्गा र त्यस वरपरका जग्गाको मूल्य एक्कासि बढेको हो । बाटो भएका कित्ताका जग्गाको भाउ तीनचार दोब्बर बढेको र बाटो नै नभएका जग्गा पनि केही हाउजिङ कम्पनीले किन्न सुरु गरेपछि मूल्य बढेको बताइन्छ ।

बाहिरी चक्रपथ र चक्रपथसँग दुवैतर्फ २५० मिटरभित्रको भगिनी सहर अर्थात् ‘सिस्टर सिटी’मा जग्गाधनीले चालीसदेखि पचास प्रतिशत जग्गा पाउने भएकाले किनबेच प्रभावित भएको हो । कीर्तिपुरका नारायण महर्जनले बाहिरी चक्रपथ र सिस्टर सिटी नजिक हुने भएपछि केही राम्रो हुने सङ्केत पाएकाले बाटो नभएका खेतबारी बिक्री गर्ने मनशाय त्यागेको जानकारी दिए ।

बाहिरी चक्रपथ निर्माण हुने भएपछि पहिलो चरणमा सुरु हुने चोभारस्थित गलैँचा फ्याक्ट्रीका बाटो भएका जग्गाको मूल्य अहिले अकासिएको गुणराज प्रजापतिले बताए । ललितपुर जिल्लाको बाहिरी चक्रपथमा पर्ने गोदावरी क्षेत्रका जग्गाको मूल्य पनि बढेको बताइएको छ ।

बाहिरी चक्रपथभित्र काठमाडौं जिल्लामा ३५.८ किलोमिटर, ललितपुर जिल्लामा १५.८० किलोमिटर र भक्तपुर जिल्लामा २१.०५ किलोमिटर सडकलाई पाँच वर्षभित्र निर्माण गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणको लक्ष्य रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com