बाबरी मस्जिद भत्काइएको स्थलमा नवनिर्मित राम मन्दिरको अर्थ के हो?


प्रकाशित मिति : माघ ८, २०८० सोमबार

हिन्दू धर्मका सबैभन्दा पूज्य देवताहरू मध्ये एक भगवान रामको विवादास्पद भव्य मन्दिरको सोमबार आंशिक उद्घाटनका लागि भारतको पवित्र शहर अयोध्याको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा लगभग ८० चार्टर्ड उडानहरू अवतरण भएका थिए । अयोध्याको एयरपोर्टमा निजी जेट पार्क गरेर राख्न सम्भव नभएको र आवतजावत मात्रै गर्न सक्ने भएकाले यात्रुलाई छोडेर विमानहरू प्रस्थान गरेका थिए ।

मस्जिद भत्काइएको स्थलमा नै यो मन्दिर बनाइएको हो । धर्मनिरपेक्ष भारतको लागि उपयुक्त नभएको भन्दै धेरैजसो राजनीतिक विपक्षी नेताहरूले मन्दिरको उद्घाटन बहिष्कार गरेका छन् । यद्यपि सहभागीहरूमा भारतका केही प्रभावशाली व्यक्तिहरू प्रधानमन्त्री नरेन्द्र मोदी, उद्योगपति मुकेश अम्बानी र गौतम अडानी तथा बलिउड सुपरस्टार अमिताभ बच्चन समेत थिए ।

आगामी आमचुनाव अगाडि मोदीको हिन्दू राष्ट्रवादी पार्टीले देशको हिन्दू बहुसंख्यकलाई लबिङ गर्न प्राणप्रतिष्ठा समारोहको प्रयोग गरिरहेको छ। यो मन्दिर हिन्दू धर्मावलम्बीका सबैभन्दा लोकप्रिय देवताहरू मध्ये एक रामको पवित्र वासस्थान हुनेछ । हिन्दूहरूले विश्वास गर्छन् कि अयोध्याको यही ठाउँमा रामको जन्म भएको थियो।

विपद्को समयमा उहाँको नाम जप गर्दा शान्ति र समृद्धि मिल्ने विश्वासका साथ लाखौं हिन्दू धर्मावलम्बीहरूले रामको पूजा गर्छन् र हिन्दू धर्म मान्नेहरूमध्ये अधिकांशले घरमा रामको मूर्ति राख्छन्। दशैं, रामनवमी जस्ता प्रमुख हिन्दू चाडहरू सत्य, बलिदान र नैतिक शासनको गुणहरूको प्रशंसा गर्ने रामको पौराणिक कथाहरूसँग जोडिएका छन्।

PM at the Pran Pratishtha ceremony of Shree Ram Janmaboomi Temple in Ayodhya, Uttar Pradesh on January 22, 2024.

सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६औँ शताब्दीको मस्जिदलाई अब यो मन्दिरले विस्थापन गरेको छ। उक्त विध्वंसपश्चात् देशभरि दङ्गा फैलिँदा झन्डै २,००० जनाको ज्यान गएको थियो।

लगभग ३ हेक्टरमा फैलिएको मन्दिरको अनुमानित लागत २१७ मिलियन डलर रहेको छ। यो गुलाबी स्याण्डस्टोनदे बनेको छ, आकर्षक कलाले सजिएको छ । मन्दिरमा ४६ वटा ढोकाहरू छन् जसमध्ये ४२ वटामा सुनको तह रहेको छ । मन्दिरले परम्परागत डिजाइनलाई अत्याधुनिक प्रविधिसँग मिसाएको छ भने फलाम, स्टिल वा सिमेन्टको प्रयोग नगरी बनाइएको छ ।

अभिषेकका लागि मन्दिरको भित्री भागमा रामको १ दशमलव ३ मिटर अग्लो कालो ढुङ्गाको मूर्ति स्थापना गरिएको थियो। मूर्तिलाई प्राण दिने प्राण प्रतिष्ठाको धार्मिक अनुष्ठान हिन्दू वैदिक शास्त्र अनुसार गरिएको छ । त्यसपछि देवताले भक्तहरूलाई प्राप्त गर्न र आशीर्वाद दिन सक्ने विश्वास गरिन्छ । मन्दिर सर्वसाधारणका लागि खुला गरिएपछि दैनिक एकलाखले दर्शन गर्ने अनुमान छ ।

यद्यपी अयोध्या भारतको अशान्त राजनीतिको केन्द्रमा रहेको छ । सन् १९९२ मा भीडले १६ औं शताब्दीको बाबरी मस्जिद ध्वस्त गरेपछि यसको विविध, बहुसांस्कृतिक विगतलाई कडा हिन्दू राष्ट्रवादले ओगटेको छ । हिन्दूहरूले सन् २०१९ मा लामो कानुनी लडाई जितेका थिए । उनीहरूलाई त्यहाँ मन्दिर निर्माण गर्न अनुमति दिइएको थियो। हिन्दूहरूले भारतको जनसंख्याको लगभग ८० प्रतिशत ओगटेका छन् तर यो देश लगभग २ सय मिलियन मुस्लिमहरूको घर पनि हो जुन बारम्बार हिन्दू राष्ट्रवादीहरूको आक्रमणमा परेका छन्।

मोदी भारतमा धर्म र राजनीतिको अभूतपूर्व र अनौपचारिक फ्यूजनको अनुहार भएका छन् । उनले सन् २०२० मा मन्दिरको शिलन्यास समारोहको नेतृत्व गरेका थिए । आलोचकहरूले हिन्दू धार्मिक अनुष्ठानको नेतृत्व गर्ने विविध, संवैधानिक रूपमा धर्मनिरपेक्ष राज्यको विचार निन्दनीय भएको बताउदै आएका छन् । अधिकांश विपक्षी नेताहरूले निमन्त्रणालाई अस्वीकार गरेका थिए भने यो कार्यक्रमलाई मोदीको भारतीय जनता पार्टीले राजनीतिक प्रचारका लागि प्रयोग गरिरहेको छ, जसले आफ्नो चुनावी रणनीतिको भागको रूपमा राम मन्दिर निर्माण गर्ने वाचा गरेको थियो।

मोदीले मानिसहरूलाई सार्वजनिक रूपमा घर र मन्दिरहरूमा दीप प्रज्वलन गरेर अभिषेक मनाउन आग्रह गरेका थिए । हिन्दू मतदाताहरूको परिचालन आगामी राष्ट्रिय चुनावमा प्रमुख मुद्दा हुनेछ किनकि मोदीले लगातार तेस्रो कार्यकालको लागि आफ्नो शासन विस्तार गर्न खोजिरहेका छन्।

बाबरी मस्जिददेखि राम मन्दिरसम्म: सन् १५२८ देखि २०२४ सम्म के के भयो?

बाबरी मस्जिद पहिलो मुगल राजा बाबरको शासनमा मुगल कमाण्डर मीर बाकीद्वारा सन् १५२८ मा निर्माण गरिएको थियो । बाबरको शासनकालमा मस्जिद बनाउनको लागि एउटा मन्दिर भत्काइएको हिन्दू समुदायको दाबी छ। सन् १८५९ मा ब्रिटिश औपनिवेशिक प्रशासनले साइटलाई हिन्दू र मुस्लिमहरूका लागि दुई अलग भागहरूमा विभाजन गरेको थियो । मुस्लिमहरूलाई भित्र प्रार्थना गर्न अनुमति दिइएको थियो भने हिन्दूहरूले बाहिरी चोकमा पूजा गर्न अनुमति पाएका थिए ।

सन् १९४९ को डिसेम्बर २३ मा मस्जिदलाई सरकारले विवादित सम्पत्ति घोषणा गरेको थियो । भवन भित्र हिन्दू पुजारीहरूले कथित रूपमा राम देवताको मूर्तिहरू राखेपछि यसको ढोकामा ताला लगाइएको थियो । त्यसपछि मस्जिदमा मुस्लिम नमाज पढिएन। सन् १९५० देखि १९६१ सम्म घटनास्थलमा हिन्दू पूजाआजा गर्ने अधिकारदेखि लिएर मुस्लिम समुहले उक्त जग्गा घोषणा र कब्जा गर्न माग गर्दै अदालतमा चारवटा मुद्दा दायर भएका थिए ।

सन् १९८४ मा हिन्दू मन्दिर निर्माणको नेतृत्व गर्न विश्व हिन्दू परिषद सहित हिन्दू अति दक्षिणपन्थी समूहहरूले एउटा समिति गठन गरेको थियो । सन् १९९० मा भाजपा नेता लालकृष्ण आडवाणीले मस्जिदको ठाउँमा मन्दिर निर्माण गर्न राष्ट्रव्यापी अभियानको नेतृत्व गरे । राष्ट्रव्यापी अभियानले हिंसाको श्रृंखला सुरु भयो, जसको परिणामस्वरूप पूर्वी राज्य बिहारमा आडवाणी पक्राउ परे।

सन् १९९२ को डिसेम्बर ६ मा १६ औं शताब्दीको मस्जिद भत्काउन अयोध्यामा दशौं हजार हिन्दूहरू भेला भए । देशभर हिन्दू–मुस्लिम दंगा भड्कियो । जसमा २ हजारको ज्यान गयो । मस्जिद भत्काएको १० दिनपछि केन्द्र सरकारले घटनाको छानबिन गर्न लिबरहान आयोग गठन गरेको थियो ।

सन् २००३ मा पुरातत्वविद्हरूले उक्त स्थानमा हिन्दू मन्दिर अवस्थित थियो वा थिएन भनेर पत्ता लगाउन अदालत निर्देशित सर्वेक्षण सुरु गरे । सर्वेक्षणले मस्जिदको मुनि मन्दिर रहेको प्रमाण रहेको बताएको थियो तर धेरै पुरातत्वविद् र मुस्लिमहरूले यस निष्कर्षलार्ई अस्वीकार पनि गरेका थिए । सन् २००९ मा मस्जिद भत्काएको १७ वर्षपछि आयोगले प्रतिवेदन बुझायो । प्रतिवेदनमा मस्जिद भत्काउनका लागि भाजपा र यसको विचारधाराका गुरु राष्ट्रिय स्वयंसेवक संघका धेरै नेताहरू जिम्मेवार ठहराइयो । आडवाणीलगायत भाजपाका केही वरिष्ठ नेताहरू मुद्दाको सामना गरे ।

सन् २०१० मा इलाहाबाद हाईकोर्टका तीन न्यायाधीशले हिन्दू र मुस्लिमले विवादित जग्गा साझा गर्नुपर्ने आदेश दिएका थिए । हिन्दू र मुस्लिम समुदायको पुनरावेदनपछि सर्वोच्चले उच्च अदालतको आदेशलाई सन् २०११ मा निलम्बन गरेको हो । सन् २०१७ मा भारतका प्रधानन्यायाधीशले हिन्दू र मुस्लिम बीचको विवाद अदालत बाहिर समाधानको सुझाव दिएका थिए । सोहीबर्ष सर्वोच्च अदालतले मस्जिद भत्काएको मामिलामा शीर्ष शासक दलका नेताहरू आडवाणी, मुरली मनोहर जोशी र अन्य १३ जना विरुद्ध षड्यन्त्रको आरोपलाई पुनर्जीवित गर्‍यो। सन् २०१७ मै सर्वोच्च अदालतले विवादमा १३ वटा पुनरावेदनको सुनुवाइ गरेको थियो ।

सन् २०१९ मा सर्वोच्च अदालतले सर्तहरूमा हिन्दू मन्दिर निर्माणको निरीक्षणका लागि जग्गा ट्रस्टलाई हस्तान्तरण गर्नुपर्ने आदेश दिएको थियो भने अयोध्यामा मुस्लिम समुदायलाई छुट्टै जग्गा दिइयो । सन् २०२० मा मन्दिर निर्माण र व्यवस्थापनको रेखदेख गर्न १५ सदस्यीय श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट गठन गरियो । अगस्ट ५, २०२० मा प्रधानमन्त्री मोदीले मन्दिरको शिलान्यास गरे । त्यसको झण्डै डेढ महिनापछि लखनउको एक अदालतले प्रमाणको अभावमा प्रधानमन्त्री मोदीका एक समयका सल्लाहकार अडवाणीलगायत भाजपाका वरिष्ठ नेताहरूलाई सफाइ दियो ।

निर्माण सुरु भएको झण्डै साढे ३ बर्षपछि सन् २०२४ को जनवरी २२ मा मन्दिरमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com