अमेरिकामा खतरनाक चिसो, तापक्रम शून्यभन्दा तल, कतै हिमपात, कतै उडानहरु रद्द


प्रकाशित मिति : पुस २९, २०८० आईतबार

अमेरिकाको धेरैजसो ठाउँमा तापक्रम शून्यभन्दा तल झरेपछि लाखौं अमेरिकीहरूले खतरनाक चिसोको सामना गर्नु परेको छ । आर्कटिक आँधीले अमेरिकाको उत्तरपश्चिममा दशौं हजार ग्राहकका घरमा विद्युत आपूर्तिमा अवरोध ल्याएको छ भने दक्षिणमा हिउँ परेको छ । उत्तरपूर्वमा खराब मौषमका कारण एनएफएल खेल नै स्थगित गर्नुपर्ने बाध्यता आएको छ ।

देशव्यापी रुपमा झण्डै ९५ मिलियन मानिसले आइतवार शून्य फरेनहाइट भन्दा कम तापक्रम र चिसो हावाका लागि मौसम सम्बन्धि चेतावनीको सामना गरेका छन् । मौसमविद्हरूले कडा चिसो नर्दन टेक्साससम्म पुग्ने अपेक्षा गरेका छन् भने मोन्टाना र डकोटामा माइनस ७० डिग्री फरेनहाइट अर्थात् माइनस ५६ डिग्री सेल्सियससम्मको चिसो भएको छ ।

साउथ डकोटा डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीले आइतवार एक विज्ञप्तिमा मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको थियो । न्यूयोर्क बफेलोमा २ फिटसम्म हिमपातको पूर्वानुमान गरिएको थियो भने मौषम खराब भएका कारण खेलहरु सोमबारसम्म स्थगित गरिएको थियो । हावा ३० माइल प्रतिघण्टाको गतिमा चलेको थियो भने प्रतिघण्टा २ इन्चको दरले हिउँ परेको थियो ।

बेल्चा बोकेका कामदार र ट्रकहरू बफेलोको हाईमार्क स्टेडियममा मैदानबाट हिउँ हटाउन काम गरेका थिए खेलका स्वयम्सेवकहरूलाई घरमै बस्न र सडकहरूमा यात्रा प्रतिबन्धलाई स्वीकार गर्न चेतावनी दिइएको थियो । हिउँ फाल्ने मद्दत गर्न उत्सुक स्वयंसेवकहरूलाई पनि घरमै बस्न चेतावनी दिइएको थियो ।

ओरेगनमा १ लाख ३५ हजार भन्दा बढी घरहरू र व्यवसायहरूमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको थियो । तीमध्ये अधिकांश पोर्टल्याण्ड मेट्रो क्षेत्रमा थिए । उच्च हावा, हिउँ र बरफ मिसिएको वर्षाले रूखहरू र विजुलीका पोलहरु ढालेको थियो ।

क्षतिको हद र उच्च स्तरको विद्युत आपूर्तिमा अवरोधका घटनाहरूलाई ध्यानमा राख्दै पुनर्स्थापना प्रयासहरू जारी रहने र ग्राहकहरूलाई सोही अनुसार योजना बनाउन प्रोत्साहित गरिने पोर्टल्याण्ड जनरल इलेक्ट्रिकले एक विज्ञप्तिमा बताएका छन् । मंगलबार उच्च हावा र चिसो वर्षा ल्याउन सक्ने दोस्रो मौसमको ढाँचा हेरिरहेको पोर्टल्याण्ड जनरल इलेक्ट्रिकले बताएको छ।

मिशिगन, न्यूयोर्क, पेन्सिलभेनिया र विस्कन्सिनमा पनि आइतबार हजारौंलाई असर गर्ने व्यापक रुपमा विद्युत आपूर्तिमा अवरोध रिपोर्ट गरिएको थियो। नेब्रास्कामा पब्लिक पावर डिस्ट्रिक्टले ग्राहकहरूलाई विद्युत आपूर्तिमा अवरोध रोक्नको लागि बिजुली बचत गर्न आग्रह गरेको छ ।

देशभरका विमानस्थल प्रभावित भएका छन् । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलबाट आधाभन्दा बढी उडान रद्ध गरिएका छन् । शिकागो, डेनभर र सिएटल टाकोमा एयरपोर्टहरूमा पनि धेरै उडानहरू रद्द वा ढिलाइ भएका थिए।

मौषम पूर्वानुमानकर्ताहरूले भारी हिउँ र हावाका कारण पूर्वी पेन्सल्भेनिया, उत्तरी न्यूजर्सी र डेलावेयरका केही भागहरूमा भिजिबिलिटीमा तीव्र र अचानक गिरावट ल्याउन सक्ने चेतावनी दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com