एमालेद्वारा बाढीपीडितलाई एक करोड


प्रकाशित मिति : भाद्र ७, २०७४ बुधबार

भाद्र ७, २०७४- प्रमुख प्रतिपक्षी एमालेले बाढीपीडितको सहयोगार्थ करिब एक करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषलाई प्रदान गरेको छ । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले मंगलबार ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरे । एमालेले सांसद, केन्द्रीय नेता र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट एक महिनाको तलब उठाउने निर्णय गरेको थियो । त्यसबाहेक उक्त पार्टीले बाढीपहिरो पीडितका लागि छुट्टै अभियान सञ्चालन गरेरसमेत सहयोग गरिरहेको छ ।

कतार रेडक्रसको साढे दुई करोड
मस्कट– कतार रेड क्रिसेन्टले नेपालका बाढीपहिरो पीडितका लागि दुई लाख ५० हजार डलर (२ करोड ५६ लाख ५० हजार रुपैयाँ) दिने भएको छ । रेड क्रिसेन्टका कार्यकारी निर्देशक युसुफ अल सादाले सहयोग रकम नेपाल रेडक्रस सोसाइटीमार्फत सहयोग गर्ने बताए । कतार राष्ट्रिय मानव अधिकार समितिको नेपाली समुदायका संयोजक रमजान अली मियाँको नेतृत्वमा गएको टोलीसमक्ष सादाले नेपालमा पठाउन लागेको रकमबारे जानकारी दिएका हुन् ।
मियाँको नेतृत्वमा गएका नेपाली महिला समाज कतारकी अध्यक्ष सुस्मिता भुसाल, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष अब्दुल हफिज मियाँ, गायिका देविका केसी गुरुङ, एभरेस्ट युथ क्लबका अध्यक्ष उत्तम गुरुङ र व्यवसायी मुक्तदा मुसलमानले नेपालमा बाढीपहिरोबाट पुगेको क्षतिबारे रेड क्रिसेन्टका पदाधिकारीलाई जानकारी गराएका थिए । संस्थाका अन्तर्राष्ट्रिय उद्धार तथा पुन:स्थापना प्रमुख खालिद जियाले नेपालमा चार जनाको विशेष टोली पठाउन लागेको बताए । संस्थाले भूकम्पका बेला पनि सहयोगसहित उद्धार टोली पठाएको थियो ।
यसैबीच, साउदीमा कार्यरत नेपाली कामदारले बाढीपीडितका लागि ५ लाख ५७ हजार रुपैयाँ पठाएका छन् । गैरआवासीय नेपाली संघ, साउदीले ४ लाख ६ हजार र पारिवारिक समाज नेपाल, साउदीले एक लाख ५१ हजार रुपैयाँ पठाएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com