केही भिसा वाहकले अमेरिका नछाडिकनै भिसा नविकरण गर्नपाउने कार्यक्रम फेब्रुअरीदेखि


प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार

अमेरिकी विदेश मन्त्रालयले केही विदेशी नागरिकलाई अमेरिका नछाडिकनै भिसा नविकरणका लागि अनुमति दिने कार्यक्रम कार्यान्वयनको लागि अपडेट गरिएको समयसीमा जारी गरेको छ । नयाँ अपडेट अनुशार यो कार्यक्रम अब फेब्रुअरी २०२४ मा सुरु हुनेछ। कार्यक्रमका लागि योग्यताका आवश्यकताहरू र मापदण्डहरू सहित आगामी हप्ताहरूमा सुचनाहरु आउने अपेक्षा गरिएको छ । यो नियमको सुचना व्यवस्थापन तथा बजेट कार्यालयमा अक्टोबरदेखि समीक्षा भइरहेको छ ।

यो कार्यक्रमले म्याद सकिएको वा म्याद सकिदै गरेको भिसा भएका केही गैरआप्रवासीहरूलाई विदेशमा रहेका अमेरिकी दूतावासमा यात्रा नगरी आफ्नो भिसा नवीकरणको लागि अमेरिकाभित्रैबाट आवेदन दिन अनुमति दिनेछ।

निश्चित योग्य गैर नागरिकहरूका लागि संयुक्त राज्य अमेरिकामा एचवान बी गैरआप्रवासी भिसाहरूको नवीकरण पुन सुरु गर्न पाइलट कार्यक्रम शीर्षकको सुचना अमेरिकी विदेश मन्त्रालयले अक्टोबरमा नै संघीय पुनरावलोकनका लागि सूचना र नियामक मामिला कार्यालयमा पठाएको थियो । फेडरल रजिष्टरमा सुचना प्रकाशित भएपछि अमेरिकाभित्रै भिसा नवीकरण पाइटल कार्यक्रममा योग्यताको मापदण्डलाई रूपरेखा दिनेछ। सुरुमा यो कार्यक्रम एचवान बी भिसाका सन्दर्भमा मात्र लागु हुनेछ भने वार्षिक कोटा २० हजार तय गरिएको छ ।

अमेरिकी दूतावासहरूमा भिसा आवेदन ब्याकलगहरूको प्रभावलाई कम गर्ने प्रयासमा अमेरिकी विदेश मन्त्रालयले यो कार्यक्रम परीक्षण गर्ने योजना बनाएको हो । महामारीको उचाईमा अमेरिकी दूतावासहरूमा विकसित भएको असाधारण रूपमा लामो भिसा आवेदन ब्याकलगहरू कम गर्ने माध्यमको रूपमा अमेरिकामा नै नविकरण अनुमति दिन पहिलेदेखि नै आग्रह गरिदै आएको थियो ।

अमेरिकाभित्रैबाट भिसा पुन प्रमाणीकरण नयाँ होइन। सन् २००४ सम्म अमेरिकी विदेश मन्त्रालयले केही गैर आप्रवासी भिसा वाहकहरूलाई वाशिंगटन, डीसीमा रहेको विदेश मन्त्रालयको भिसा कार्यालयमा हुलाक मार्फत कागजात पठाएर उनीहरूको भिसा नवीकरण गर्न अनुमति दिदै आएको थियो ।

ई, एच, एल, ओ, पी लगायतका भिसा हुनेहरुलाई यस्तो सुविधा दिइएको थियो । भिसाहरू म्याद सकिनुभन्दा ६० दिन अघि र म्याद समाप्त भएको एक वर्षसम्मको अवधिमा नविकरण गर्नसकिने प्रावधान थियो ।

२००४ मा खारेज भएको उक्त कार्यक्रम ती विदेशी नागरिकहरूको लागि लोकप्रिय विकल्प थियो जसको देशमा रहेका दूतावासहरूमा आवेदनहरूको उच्च मात्रा र लामो प्रक्रियाको ब्याकलगहरू थिए।

सन् २००१ को सेप्टेम्बर ११ को आतंककारी हमलाहरू पछि लागू गरिएको राष्ट्रिय सुरक्षा कानूनले आवश्यक पर्ने आवेदक बायोमेट्रिक्स सङ्कलन गर्ने माध्यम राज्य विभागसँग नभएकोले यो कार्यक्रम बन्द गरिएको थियो। यद्यपी निश्चित कूटनीतिक र अन्तर्राष्ट्रिय संगठन भिसाहरूको लागि यो विकल्प कायम रहदै आएको छ ।

अमेरिकी दूतावासहरूमा गैरआप्रवासी भिसा नवीकरणको लागि लामो पर्खाइ र ती पर्खाइहरूको कारणले गर्दा हुने अवरोधहरूको सम्भावनाको सामना गर्ने विदेशी नागरिकहरूको लागि विदेश मन्त्रालयले ल्याउन लागेको कार्यक्रम आशाजनक समाचार हो। यद्यपि विदेशी नागरिकहरू र तिनीहरूका रोजगारदाताहरू सचेत हुनुपर्दछ कि कार्यक्रमको दायरा साँघुरो र समय सीमित हुन सक्छ ।

किनभने विदेश मन्त्रालयले पुन प्रमाणीकरण गर्ने क्षमताको परीक्षण गर्नेछ । परीक्षण पूरा भएपछि अमेरिकी विदेशमन्त्रालयलाई कार्यक्रम पूर्णरुपमा लागु गर्न केही महिना लाग्नसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com