अफ्गानिस्तानमा ‘जित्नलाई अमेरिका लडिरहने’
प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

विदेशी नीतिसम्बन्धी एउटा महत्त्वपूर्ण सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्गानिस्तानबाट अमेरिकाले हतारमा सेना फिर्ता बोलाएमा आतंकवादीहरुले त्यो स्थान लिने बताएका छन्।
यसअघि सेना फिर्ता बोलाउनुपर्ने पक्षमा आफू रहेको स्वीकार्दै उनले इराकमा गरिएको गल्ती नदोहोर्याउने बताए।
ट्रम्पले इराकबाट सिकिएको अनुभवका आधारमा अफ्गानिस्तानमा ‘जित्नलाई अमेरिकाले लडाइँ गरिरहने’ निष्कर्षमा आफू पुगेको उल्लेख गरे।
उनले भने, “अमेरिका अफ्गानिस्तान सरकारसँग मिलेर काम गर्नेछ जबसम्म हामीलाई प्रगति एवं प्रतिबद्धता देखिनेछ।”
सुरक्षा स्वार्थ
यद्यपि अफ्गानिस्तानका लागि ‘खाली चेक’ नभएको ट्रम्पले बताए।
अमेरिकाले आफ्ना सुरक्षा स्वार्थहरुलाई प्राथमिकता दिने उनको भनाई छ।
वाशिङटनले अफ्गानिस्तानमा तालेवाल लडाकु र तथाकथित इस्लामिक स्टेटविरुद्ध लड्न थप सेना पठाउने अपेक्षा गरिएको छ।

तर ट्रम्पले थपिने संख्या वा अमेरिकी संलग्नता अन्त्य गर्ने समयावधिबारे सार्वजनिक रुपमा केही नबताउने उल्लेख गरे।
मलजल
अमेरिकी रक्षामन्त्रीले अमेरिकाका साझेदार मुलुकहरुले अफ्गानिस्तानमा आफ्ना सेना बढाउने प्रतिबद्धता जनाइसकेको बताएका छन्।
अफ्गानिस्तानमा तालेवान लडाकुविरुद्ध अमेरिकी सेनाको अभियान सन् २०१४ मै आधिकारिक रुपमा सकिए पनि विशेष अमेरिकी फौजले अफ्गान सैनिकलाई मद्दत गर्दै आएको छ।
पाकिस्तानले आतंकवादीहरुलाई मलजल गरिरहेको आरोप लगाउँदै ट्रम्पले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्नेमा जोड दिए।
ट्रम्पले पाकिस्ताको प्रतिद्वन्द्वी भारतसँग रणनीतिक साझेदारीको विकास गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन्।