अमेरिकामा अस्थायी कामदार पठाउने देशको सुची अपडेट, योग्य होलान् सुचीमा नभएका नेपाली?


प्रकाशित मिति : कार्तिक २३, २०८० बिहीबार

नोभेम्बर ९ देखि लागु हुनेगरी अमेरिकाले अस्थायी कृषि (एच टु ए) तथा गैरकृषि कामदार (एच टु बी ) हरु पठाउन योग्य देशको सुची अपडेट गरेको छ । योग्य देशहरुको सुची सहितको सुचना फेडरल रजिष्टरमा प्रकाशित  गरिएको छ । सुचीमा दुबै कार्यक्रमका लागि बोलिभिया थपिएको छ ।

फेडरल रजिष्टरमा प्रकाशित सुचना र सम्पूर्ण देशको सुची हेर्न यहाँ क्लीक गर्नुहोला ।

अब अस्थायी कृषि कामदार र अस्थायी गैर कृषि कामदारहरु अमेरिका पठाउनका लागि ८९ देश योग्य भएका छन् । फेडरल रजिष्टरमा सुचना प्रकाशित भएको मितिमा पेन्डिङ अवस्थामा रहेका लगायतका आवेदनहरु युएससीआईएसले तजविजका आधारमा समेत स्वीकृत गर्न सक्नेछ । सुचीमा नभएका देश बाहेक अन्य देशका आवेदकका सन्दर्भमा अमेरिकाको राष्ट्रिय रुचीमा परेको खण्डमा युएससीआईएसले तजविज अधिकारका आधारमा आवेदन स्वीकृत गर्न सक्नेछ ।

अमेरिकाको अस्थायी कृषि कामदार र अस्थायी गैर कृषि कामदारका लागि नेपाललाई योग्य देशमा सुचिकृत गरिएको छैन । तर यस्तो आवेदनको लाभार्थी बन्नु अमेरिकाको हितमा रहेको छ भन्ने निर्धारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गरेको खण्डमा भने सुचीमा नभएका देशका व्यक्तिको अस्थायी कृषि कामदार भिसा स्वीकृत हुन सक्नेछ । अर्थात् आवेदन अमेरिकाको हितमा रहेको प्रमाणित गर्न सकेमा नेपालीहरु सुचीमा नभएपनि  भिसा पाउन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुचीमा नभएका देशका व्यक्तिका लागि आवेदन दिनुपरेमा भने छुट्टै आवेदन पेश गर्न युएससीआईएसले सुझाव दिएको छ । त्यस्तै सुचीमा नभएको देशलाई सुचीमा समावेशका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड समक्ष सिफारिस गर्न पनि सकिन्छ । त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पोलिसी अफिस वा अमेरिकी विदेश मन्त्रालय अन्तरगतका दूतावास र कन्सुलेटमा लिखित अनुरोध गर्न सकिन्छ ।

नेपाली पासपोर्ट

सुचीमा नभएका देशका सरकारका तर्फबाट आफ्नो देशलाई सुचीमा समावेश गर्नका लागि अनुरोध गर्न सकिन्छ । त्यस्तै सुचीमा नभएका देशका कामदार राख्नुपर्ने अवस्थाका रोजगारदाताका तर्फबाट पनि यस्तो अनुरोध गर्न सकिन्छ । त्यस्तै यसबारे सम्बन्धित र रुची राख्ने अन्य समुहले पनि यस्तो अनुरोध गर्न सक्छन् । त्यसपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उक्त देशलाई सुचीमा राख्ने वा नराख्नेबारे निर्णय गर्छ । यस्तो निर्णय गर्दा उक्त देशका नागरिक अमेरिकाबाट देशनिकाला हुने क्रममा उक्त देशको दूतावासले ट्राभल डकुमेन्ट बनाउन समन्वय गरे नगरेको लगायत उक्त देशका कति व्यक्तिलाई दिइएको देशनिकालाको आदेश कार्यान्वयन भएको छ वा कतिलाई दिइएको आदेश कार्यान्वयन भएको छैन लगायतका मापदण्डहरु हेरिनेछ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भनेको छ  – ‘योग्य देशको सुचीमा रहेको देशको नागरिक नरहेतापनि युएससीआईएसले एचटु ए वा एच टु बी आवेदकका पक्षमा विचार गर्न सक्छ । जुन परिस्थितिको समग्रतामा निर्भर गर्दछ। यद्यपि, योग्यताको कुनै पनि अन्तिम निर्धारण प्रत्येक व्यक्तिगत परिस्थितिमा सबै सान्दर्भिक कारकहरू र प्रमाणहरू अनुसार गरिनेछ।’

अमेरिकामा आर्थिक बर्ष २०२४ का लागि ६६ हजारका अतिरिक्त लगभग ६५ गैर कृषि अस्थायी कामदार भिसा उपलब्ध गराइने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले थप अस्थायी कामदार भिसाहरु उपलब्ध गराइने घोषणा गरेको हो । संसदले हरेकबर्षका लागि तोकेको कोटा ६६ हजार भएतापनि २०२४ का लागि थप भिसाहरु पनि उपलब्ध हुनेछन् ।

अमेरिकाका अस्थायी कृषि कामदारका लागि सामान्यतया प्रत्येक आर्थिक वर्षमा ६६ हजार भिसाहरु उपलब्ध गराइन्छ । तर हरेकबर्ष यो बाहेक अतिरिक्त भिसाहरु पनि थप्ने गरिन्छ । आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार भिसाहरु थपिएको थियो ।

अमेरिकाको अस्थाई कृषि कामदार  भिसावाहकका ६ अधिकार

१, तपाँईले एजेन्टलाई आफनो खल्तिबाट कहिले पनि पैसा तिर्नु पदैन।

२, तपाँईले रोजगारदाताबाट आफु ले बुझिने भाषामा सम्झौतापत्र पाउनु पर्छ। त्यसमा तलब, कामको समय र घण्टा, यातायात र आवास लगायतका सुविधाहरु, खाना वा आफै ले पकाउने सुविधाहरु र महिनावारी तलबबाट काटिने रकमको बारेमा बिस्तृत जानकारी रहेको हुनुपर्छ।

३, तपाइँको तलब प्रति गोटा उत्पादनमा आधारित भएपनि न्यायोचित तलब पाउने तपाँईको अधिकार छ।

४, तपाँईको रोजगारदाताले तपाँईलाई तपाँई बसेको मुलुक वा ठाउँबाट उसको काम गर्ने गन्तब्यसम्म पुग्ने सम्पूर्ण बाटोको खर्च र खानाखर्चको बन्दोबस्त गरिदिनुपर्छ वा पैसा दिनु पर्छ। यात्राको बाटो र खाना खर्च सबै तपाँई आफै ले ब्यहोर्नुभएको थियो भने श्रम सम्झौताको आधा अवधि सिद्धिएपछि रोजगारदाताले तपाँईको लागेको मनासिव खर्च फिर्ता गरिदिनुपर्छ। तपाँईले सम्झौता अनुसारको श्रम अवधि पुरा गरेपछि काम गर्ने ठाउँबाट तपाँई सुरुमा जहाँबाट आएको हो त्यहिँ फर्किनको लागि यातायात र खानपिन तपाँईको रोजगारदाताले बन्दोबस्त गरिदिनुपर्छ अथवा त्यसको खर्चब्योहर्नु पर्छ।

तपाँईको कमाईबाट खर्च घटाउँदा सरकारी न्यूनतम पारिश्रमिकभन्दा कम हुने देखियो भने तपाँईको रोजगारदाताले पहिलो हप्तामै तपाँईलाई लागेको बाटोखर्च र तिरेको भिसा शुल्क बराबरको पैसा फिर्ता गरिदिनुपर्छ। रोजगारदाताले तपाँईलाई दिएको आवासबाट काम गर्ने ठाउँसम्म आउने पुरै खर्च उसैले ब्यहोरनु पर्छ।

५, तपाईलाई एच२ए भिसा अन्तर्गत गरिएको कामको आम्दानीमा सोसल सेक्युरिटी र मेडिकेयरको कर छुट हुन्छ।

६, सामान्यतया तपाँईको रोजगारदाताले श्रम सम्झौतामा पर्ने कामको दिन गनेर कमसेकम त्यसको जम्मा घन्टाको तीन चौथाई घण्टा बराबर तपाँईलाई काम दिनुपर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com