अमेरिकाका १८ देखि २५ बर्षसम्मका कसकसले दर्ता गर्नुपर्छ सेलेक्टिभ सर्भिसमा?


प्रकाशित मिति : माघ २४, २०८० बुधबार

अमेरिकामा १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष आप्रवासीले अनिवार्यरुपमा सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ । खासगरी २६ बर्ष नलागेको आप्रवासीले आफ्नो १८ औं जन्मदिनपछि सेलेक्टिभ सर्भिसमा अनिवार्य दर्ता गर्नुपर्ने कानून रहेको छ । सेलेक्टिभ सर्भिस दर्तामार्फत अमेरिकी सरकारले मुलुकमा राष्ट्रिय आपतकालिन अवस्था आएर सशस्त्र शक्तिको तुरुन्तै विस्तार गर्नेपर्ने अवस्था आएको खण्डमा उपयोग गर्नका लागि पुरुषहरुको नाम संकलन गर्छ ।

कोही व्यक्ति १८ बर्ष नपुग्दै अमेरिकामा ग्रिनकार्डमा वा आप्रवासीका रुपमा आएको छ भने उसले १८ बर्ष पुग्नासाथ दर्ता गर्नुपर्छ । तर कोही व्यक्ति २६ बर्ष लागेपछि अमेरिकामा ग्रिनकार्डमा वा आप्रवासीका रुपमा आएको छ भने उसले दर्ता गर्नुपर्दैन । २६ बर्ष नपुग्दै आएको व्यक्तिले दर्ता गराउनुपर्छ । एफ, बी, एच, जे लगायतका गैरआप्रवासी भिसामा रहेको व्यक्तिले भने दर्ता गराउनु पर्दैन । तर भिसाको म्याद सकिएका वा भिसा बिना अमेरिका प्रवेश गरेका पुरुषहरूले भने दर्ता गर्न आवश्यक छ ।
एसाइलम खोज्नेहरु र एसाइलीहरुले पनि दर्ता गर्न आवश्यक छ। साथै अध्यागमन अदालतमा वा पुनरावेदनमा मुद्दा भएका पुरुषहरू र अमेरिकाभित्रै रहेका देश निकालाको आदेश दिइएका पुरुषहरूले पनि दर्ता गर्न आवश्यक छ।

सेलेक्टिभ सर्भिसका लागि दर्ता गर्ने दुई तरिकाहरू छन्। यदि तपाइँसँग सोसल सेक्युरिटी नम्बर छ भने अनलाइन दर्ता गर्न सक्नुहुन्छ। यदि तपाईंसँग सोसल सेक्युरिटी नम्बर छैन भने तपाईंले फारम प्रिन्ट गरेर भरेर हुलाकमार्फत पठाउनुपर्छ । तपाईंले आफ्नो पूरा नाम, जन्म मिति, ठेगाना, इमेल ठेगाना र सोसल सेक्युरिटी नम्बर हुनेहरुले उक्त नम्बर प्रदान गर्न आवश्यक हुन्छ । दर्ता गर्ने पुरुषहरूले उनीहरूको अध्यागमन स्थितिबारे जानकारी प्रदान गर्न भनिएको हुदैन । त्यसैले दर्ता गर्दा कुनै जोखिम छैन । यसबारे अध्यागमन अधिकारीहरूलाई रिपोर्ट गरिदैन ।

सेलेक्टिभ सर्भिसमा दर्ता नगरेको व्यक्तिले अमेरिकी नागरिकता प्रकृयामा कैयन बर्षसम्म ढिलो हुनसक्ने, संघीय, राज्य र स्थानीय सरकारमा जागिर खान नपाउने, संघीय तालिम, ऋण वा ग्रान्टहरु पनि लिन नपाउने हुनसक्छ । अमेरिका आएको ३० दिनभित्र सेलेक्टिभ सर्भिसमा दर्ता गर्नुपर्छ । सेलेक्टिभ सर्भिसमा दर्ता गराउनु अमेरिकी सेनामा गरेको साइनअप होइन ।

२६ बर्ष नपुगेको आप्रवासीले सेलेक्टिभ सर्भिसमा दर्ता नगराएको खण्डमा अमेरिकी नागरिकताका लागि सामान्यतया अयोग्य हुने प्रावधान छ । २६ बर्ष अगाडि नै अमेरिकामा आप्रवासीका रुपमा आएको अमेरिकी नागरिकताको आवेदक २६ देखि ३१ बर्षसम्मको छ तर सेलेक्टिभ सर्भिसमा दर्ता गराएको थिएन भने उसलाई युएससीआईएसले दर्ता नगर्नुको कारण पेश गर्ने अवशर दिन्छ । यस्तो अवस्थामा आवेदकले अन्जानमा वा थाहा नपाएर दर्ता नगरेको भएमा त्यस्तो प्रमाण पेश गर्ने मोका दिइन्छ ।

तर २६ बर्ष अगाडि नै अमेरिकामा आप्रवासीका रुपमा आएको अमेरिकी नागरिकताको आवेदक ३१ बर्षभन्दा माथिको उमेरको छ भने उसले जानेरै वा थाहा पाएरै पनि सेलेक्टिभ सर्भिसमा दर्ता नगरेको भएतापनि अमेरिकी नागरिकताका लागि योग्य हुनेछ । यदि कोही व्यक्ति २६ बर्ष अगाडि नै अमेरिकामा आप्रवासीका रुपमा आएर पनि सेलेक्टिभ सर्भिसमा दर्ता नगराएको खण्डमा उसले नागरिकता आवेदन दिनका लागि ३१ बर्षको उमेर हुँदासम्म कुनुपर्ने हुनसक्छ ।

सेलेक्टिभ सर्भिसमा महिलाले भने दर्ता गराउनु पर्दैन । यदि व्यक्ति १८ बर्षदेखि २६ बर्षको उमेरमा अमेरिकामा थिएन भने पनि उसले दर्ता गराउनु पर्दैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com