गतबर्ष १२ हजार १० जना नेपालीले पाए अमेरिकाको ग्रिनकार्ड, ६ बर्षमा उच्च


प्रकाशित मिति : आश्विन २७, २०८० शनिबार

आर्थिक बर्ष २०२२ मा १२ हजार १० जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । यो संख्या विगत ६ बर्षकै सबैभन्दा उच्च हो ।

२०२२ मा अमेरिकाको ग्रिनकार्ड पाउने १२ हजार १० जनामध्ये २८६६ जना अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्षभन्दा कम उमेरका अविवाहित छोराछोरी र बाबुआमाहरु हुन् । त्यस्तै २५१० जना अमेरिकी नागरिकका २१ बर्ष काटेका छोराछोरी र ग्रिनकार्डवाहकका परिवारका सदस्यहरु हुन् ।

२०२२ मा २४६३ जना नेपालीहरुले भने अमेरिकाको रोजगारमा आधारित ग्रिनकार्ड पाएका छन् । जसमा असाधारण योग्यता, दक्ष कामदार र दक्षता नभएका कामदारहरु समेत पर्छन् ।

सोही बर्ष २८९४ जना नेपालीहरुले भने डाइभर्सिटी भिसा मार्फत ग्रिनकार्ड पाएका छन् । शरणार्थी वा एसाइलीका रुपमा ग्रिनकार्ड पाउनेहरु भने १२६२ जना छन् भने १५ जनाले अन्य श्रेणीमा पाएका छन् ।

२०२२ मा ग्रिनकार्ड पाउने नेपालीहरुमा ११५८ जना क्यालिफोर्निया निवासी हुन् । त्यस्तै १६३२ जना न्युयोर्क निवासी नेपालीहरु हुन् । टेक्सास निवासी नेपालीहरु सबैभन्दा धेरै २ हजार २० जना रहेका छन् । ९८० जना नेपालीहरु भर्जिनिया निवासी छन् भने ७९२ जना मेरिल्याण्ड निवासी हुन् ।

आर्थिक बर्ष २०२१ मा अमेरिकामा ७ हजार ३ सय ९ जना नेपालीहरुलेमात्र ग्रिनकार्ड प्राप्त गरे  । जसमध्ये सबैभन्दा धेरै टेक्सासमा १२१३ जना रहेका थिए । ग्रिनकार्ड पाउने नेपालीहरु न्युयोर्कमा ८५५ र क्यालिफोर्नियामा ८०५ जना रहेका थिए ।

आर्थिक बर्ष २०२० मा अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ७ हजार ८ सय ४७ रहेको थियो । जसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष ननाघेका छोराछोरीहरु र बाबुआमाहरु १८६२ जना, परिवारमा आधारित अन्य श्रेणीका ७५४ जना, रोजगारमा आधारित १७७५ जना, डिभीमा आधारित १८२८ जना, एसाइलममा आधारित १६१६ जना र अन्य १२ जना रहेका थिए ।

आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड पाउनेमा सबैभन्दा धेरै टेक्सास निवासी १०९४ जना रहेका थिए । क्यालिफोर्निया निवासी ८३२ जना र तेश्रोमा न्युयोर्क निवासी ७२७ जना रहेका थिए ।  आर्थिक बर्ष २०१९ मा पनि कुल १० हजार २ सय १ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी सबैभन्दा धेरै १४८१ जना रहेका थिए भने न्युयोर्क निवासी ११९९ र क्यालिफोर्निया निवासी १०२५ जना रहेका थिए ।

आर्थिक बर्ष २०१८ मा अमेरिकामा ११ हजार ९ सय ५३ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १५२३, न्युयोर्क निवासी १३९३ र क्यालिफोर्निया निवासी ११७२ रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१७ मा अमेरिकामा ११ हजार ६ सय १० जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १६०९, न्युयोर्क निवासी १३४५ र क्यालिफोर्निया निवासी १११७ जना नेपाली रहेका थिए ।

आर्थिक बर्ष २०१६ मा अमेरिकामा १२ हजार ८ सय ५१ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । जसमध्ये टेक्सास निवासी १७९७, न्युयोर्क निवासी १६९३ र क्यालिफोर्निया निवासी १२६७ जना रहेका थिए । आर्थिक बर्ष २०१५ मा अमेरिकामा १२ हजार ९ सय २६ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १७९१, न्युयोर्क निवासी १६४६ र क्यालिफोर्निया निवासी १११७ जना रहेका थिए ।

आर्थिक बर्ष २०१४ मा १२ हजार ३ सय ५७ नेपालीले अमेरिकामा ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १७७९, न्युयोर्क निवासी १५२६ र क्यालिफोर्निया निवासी १११९ जना रहेका थिए । खासगरी आर्थिक बर्ष २०१४ देखि ग्रिनकार्ड पाउने नेपालीहरुको संख्यामा टेक्सास निवासी नेपालीहरु पहिलो नम्बरमा रहेका छन् ।

त्यस्तै आर्थिक बर्ष २०१३ मा अमेरिकामा १३ हजार ४८ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेकोमा न्युयोर्क निवासी १७०२, टेक्सास निवासी १६३२ र क्यालिफोर्निया निवासी १२७४ जना रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१२ मा अमेरिकामा ११ हजार ३ सय १२ जना नेपालीहरुले ग्रिनकार्ड पाएकोमा न्युयोर्क निवासी १४८६, टेक्सास निवासी १३६७ र क्यालिफोर्निया निवासी ९१६ जना रहेका थिए । आर्थिक बर्ष २०११ मा १० हजार १ सय ६६ नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए ।

आर्थिक बर्ष सन् २०११ देखि सन् २०२२ सम्म अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख ३३ हजार ५ सय ८८ रहेको छ । जसमा सबैभन्दा धेरै टेक्सास निवासी रहेका छन् ।

सन् १९८९ देखि सन् २००२ सम्म ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ५ हजार ७ सय ७८ रहेको छ । त्यस्तै आर्थिक बर्ष सन् २००३ देखि सन् २०१० सम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ३१ हजार २२ रहेको छ । यसरी अमेरिकामा सन् २०२२ सम्म १ लाख ७० हजार ३ सय ८८ जनाले अमेरिकाको ग्रिनकार्ड पाइसकेका छन् । २०२३ को समेत तथ्यांक जोड्दा यो संख्या १ लाख ८० हजारको हाराहारीमा रहेको छ ।  जसमध्ये झण्डै ७५ हजारले अमेरिकाको नागरिकता लिइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com