नोभेम्बरमा पनि फाइलिङ मितिका आधारमा रोजगारमा आधारित ग्रिनकार्ड, कस कसले पाउनेछन् ?


प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार

नोभेम्बरमा पनि युएससीआईएसले फाइलिङ मितिका आधारमा रोजगारमा आधारित ग्रिनकार्ड प्रकृयामा लैजाने भएको छ । अप्रिलदेखि युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने मितिका लागि भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई आधार मान्दै आएकोमा अक्टोबरदेखि यसमा परिवर्तन गरेको हो । अक्टोबरमा जस्तै नोभेम्बरमा पनि युएससीआईएसले अमेरिकी विदेश मन्त्रालयको भिसा बुलेटिनको फाइलिङ मितिलाई प्रयोग गर्ने भएको छ । जसका कारण रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड नोभेम्बरमा पनि करेन्ट हुने भएको छ ।

अगस्तदेखि सेप्टेम्बरसम्म रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट थिएन । तर अक्टोबर र नोभेम्बरमा भने रोजगारमा आधारित पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ । त्यस्तै युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ मितिलाई नै प्रयोग गर्दा रोजगारमा आधारित अन्य श्रेणीका लागि पनि केही राहत भएको छ । यद्यपी अक्टोबरको तुलनामा यसमा टसमस भने भएको छैन ।

रोजगारमा आधारित दोश्रो श्रेणी ईबी टुका लागि सन् २०२३ को जनवरी १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले नोभेम्बरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् वा विदेशमा हुनेहरुका सन्दर्भमा त्यही अनुशार नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउँछ । तर विदेशमा हुनेहरुका सन्दर्भमा दूतावासमा अन्तरवार्ताको मिति पाउन भने फाइनल एक्सन डेटमा भएको मिति ८ जुलाई २०२२ भन्दा अगाडिको प्राथमिकता मिति भएको हुनुपर्छ ।

नोभेम्बरमा कसकसले रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्न पाउनेछन् ? कस कसले रोजगारमा आधारित आप्रवासी भिसाका लागि अप्वाइन्टमेन्ट पाउनेछन? थाहा पाउनुहोस् ।

तेश्रो श्रेणीको स्कील्डका लागि नोभेम्बरमा पनि राहत मिलेको छ । यो श्रेणीमा १ फरबरी २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र नोभेम्बरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् । जबकी सेप्टेम्बरमा यो मिति सन् २०२० को मे १ थियो । तर विदेशमा हुनेहरुका सन्दर्भमा दूतावासमा अन्तरवार्ताको मिति पाउन भने फाइनल एक्सन डेटमा भएको मिति १ डिसेम्बर २०२१ भन्दा अगाडिको प्राथमिकता मिति भएको हुनुपर्छ ।

यद्यपी तेश्रो श्रेणीको अनस्कील्ड अन्य कामदारका सन्दर्भमा भने ८ महिनामात्र फेरबदल भएको छ । १५ डिसेम्बर २०२० भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुलेमात्र नोभेम्बरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् । तर विदेशमा हुनेहरुका सन्दर्भमा दूतावासमा अन्तरवार्ताको मिति पाउन भने फाइनल एक्सन डेटमा भएको मिति १ अगस्त २०२० भन्दा अगाडिको प्राथमिकता मिति भएको हुनुपर्छ ।

चौथो श्रेणीका सन्दर्भमा र धार्मिक कामदारका सन्दर्भमा सन् २०१९ को मार्च १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र नोभेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ युएससीआईएसमा पेश गर्न सक्नेछन् ।

आई १४० विचाराधिन रहेको अवस्थामा आवेदकले आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com