डिभी २०२४ का विजेतालाई भोलिदेखि भिसा, नेपालीलाई आगामी २ महिना १३०० को सिमाबन्दी


प्रकाशित मिति : आश्विन १३, २०८० शनिबार

डिभी २०२४ का विजेताहरुले अक्टोबर १  देखि भिसा पाउन सुरु गर्नेछन् तर अक्टोबर र नोभेम्बरमा १३ सय सम्म केस नम्बर हुने २०२४ का डिभी विजेता नेपालीहरु मात्र भिसा पाउन योग्य हुने भएका हुन् । अर्थात् अक्टोबरका लागि १३ सयको सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि पनि यसमा फेरबदल गरिएको छैन । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२४ को पहिलोमहिना जस्तै दोश्रो महिना पनि नेपालीहरुलाई १३०० केस नम्बरको सिमाबन्दी लगाइएको छ ।

आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ, जुन चालु आर्थिक बर्षको तुलनामा धेरै हो । आर्थिक बर्ष २०२३ का लागि ३८०८ जनाले डिभी लोटरी पारेका थिए । २०२४ मा पनि नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।

नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । गतबर्षको अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । यदि छनौट भएको खण्डमा उनीहरुले आगामी अक्टोबरदेखि अमेरिकाको भिसा पाउन थाल्नेछन् ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com