कुसंस्कार तोड्दै महिला
प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

–
भाद्र ३, २०७४- बुटवल, रूपन्देहीको तिलोत्तमाकी मायादेवी कंँडेलले आफ्नी विधवा बुहारीलाई सेतो वस्त्र लगाउन दिइनन् । बुहारीले २० वर्षेले काजकिरिया सकिएको दिनबाटै रातो वस्त्र लगाइन् । बैंसमै पति वियोग सहेकी बुहारीलाई थप पीडा नदिन यसो गरेको उनले बताइन् । गत चैतमा सवारी दुर्घटनाबाट २५ वर्षे छोरा श्यामको मृत्यु भएको थियो । मृत्युपछि विरत्तिएकी बुहारीलाई सम्हाल्न रातो पहिरनले केही सघाएको उनको ठम्याइ छ । मायादेवी आफू पनि २९ वर्षमा विधवा भएकी थिइन् । उनले निकै सास्ती भोगेर ५ छोराछोरी हुर्काएकी थिइन् । प्युठानमा जन्मिएकी उनी त्यहाँ बस्नै गाह्रो भएपछि केही समय छोराछोरी लिएर भारत गइन् । पछि तिलोत्तमामा बसिन् । ‘मैले भोगेजस्तो पीडा बुहारीलाई नपरोस्,’ मायादेवीेले भनिन्, ‘यसैले २ वर्षे नाति आफैले हेर्छु, बुहारी राजी भए बिहे गरिदिने विचार छ ।’ बैंककी जागिरे बुहारीसहित उनी अहिले राजधानीमा छिन् ।
रूपन्देहीमा बुहारीको बिहे गराउने चलनको सुरुवात बुटवल गोलपार्ककी माया ढकालले गरेकी थिइन् । सामाजिक चुनौती चिर्दै उनले करिब १३ वर्षअघि आफ्नी विधवा बुहारी धनाको घरबाटै कन्यादान गरिन् । मायाका अनुसार विसं २०५० मा माइलो छोरा दिलिपले धनालाई बिहे गरेका थिए । त्यसको तीन वर्षपछि दिलिपको मृत्यु भयो । विधवा हुँदा १८ वर्षे धनाको १० महिनाको छोरो काखमा थियो । पछि बुहारीलाई आफैले वर खोजिदिइन् र छोरीजस्तै गरेर कन्यादान गरेरै बिहे गरेर पठाइन् । अहिले पनि बुहारीलाई माइतीसरह नियमित चाडपर्वमा बोलाउँछिन् । माया र धनाको सम्बन्ध आमाछोरीको बनेपछि घरपरिवारले पनि छोरीकै व्यवहार गर्छन् । उनी भन्छिन्, ‘आफ्नै छोरीभन्दा नजिककी भएकी छन् । छोराको ठाउँमा नाति छ । बुहारीको ठाउँमा छोरी बनाएकी छु ।’ मायाको सिको गर्दै नवलपरासी र रूपन्देहीमा ८ वटा यस्तै विवाह भएका छन् ।
कुरीति विरुद्धको राष्ट्रिय सञ्जालका अनुसार नेपालमा विधवा प्रथा, बालविवाह, बहुविवाह, किरियापुत्री, कन्यादान, दाइजो, तिलक, छुइप्रथा, घुम्टो, झुमा, तलाक, बेलविवाह, कुमारी, बोक्सी लगायतका ३५ वटा कुसंस्कार छन् । यिनले महिलामाथि हिंसा बढाएको छ । यी कुसंस्कारले महिला हिंसामात्रै होइन, महिला र पुरुष बीचमा भेदभावसमेत सिर्जना गरेका छन् । यो बुझेका जिल्लाका केही महिला अहिले कुसंस्कार फेर्न जुटेका छन् । उनीहरूले भाषण होइन, आफूबाटै व्यवहार परिवर्तन गरेका छन् । छोरा नभए सट्टामा खोजेर भए पनि किरियापुत्री बसाल्ने चलनलाई समेत यहांँका महिलाले फेर्न थालेका छन् । यस मध्येकी हुन्, बुटवलकी जुना राना । उनले आफ्नी आमा सन्तोषीको एक्लै अन्त्येष्टि र काजकिरिया गरिन् । २ दाजु दुबईमा रोजगारीमा रहेका बेला गत फागुनमा लुम्बिनी अञ्चल अस्पतालमा आमाको मृत्यु भएको थियो । प्युठान घर भई बुटवलमा अस्थायी रूपमा बसेकी उनले छिमेकीको सल्लाहमा आमाको एक्लै दागबत्ती दिइन् । ७ दिनसम्मको काजकिरिया पनि एक्लै किरियापुत्री भएर गरेकी थिइन् ।
जुनाजस्तै अहिलेसम्म रूपन्देहीका ६ महिलाले एक्लै आमाबाबुको मृत्यु संस्कार गरेका छन् । यसको सुरुवात गरेकी थिइन्, मधौलियाकी श्यामला पौडेलले । निकै कसरतपछि उनले ४ वर्षअघि आमाको मृत्यु संस्कार एक्लैले गरेकी थिइन् । छोरा सरह कपाल खौरेर र सेतो एकोहोरो वस्त्र पहिरेर दिनानुदिन पिण्ड उठाएर श्राद्ध गर्ने र १३ आंै दिनको कर्म पनि छोराले सरह गरेकी थिइन् । आमाको मृत्युपछि आफन्त र सबैजसो छिमेकीले छोरीले मात्र काजकिरिया गर्दा पितृ तर्दैनन् भनेर ठूलै विरोध गरेका थिए । छोरी किरियापुत्री बने पनि साथमा दाजुभाइ या नजिकको आफन्त पुरुषलाई किरियापुत्री राख्न र दैनिक पिण्ड दिन लगाउन पनि सुझाए । तर श्यामलाले मानिनन् । श्यामला सुनाउँछिन्, ‘धेरै कसरतपछि उनका दिदी र आफन्त सहमतिमा आए र काजकिरिया गर्ने अवसर मिलेको थियो ।’
विवाहमा माइती पक्षले कन्यादान गर्नुपर्ने र दाइजो दिनुपर्ने कुसंस्कार पनि कायम छ । पछिल्लो समयमा पढेका महिलाले यसलाई विस्थापित गर्न थालेका छन् । यस मध्येकी हुन्, बुटवल ११ देवीनगरकी सुषमा अर्याल । माइतीमा २ छोरीमात्रै भएकी उनले दाइजोरहित बिहेमात्रै गरिनन्, बाबुआमालाई बिहेमा कन्यादान गर्न पनि दिइनन् । कन्यादानपछि आफू दान दिएको वस्तुजस्तो हुने र आमाबाबुले सहयोग गर्दा बोझ ठान्ने भएकाले कन्यादान नै रोकेको उनले बताइन् । ‘म धर्म विरोधी होइन । सबै संस्कार हिन्दु अनुसार नै गरेंँ,’ सुष्माले सुनाइन्, ‘तर गाईवस्तु सरह कन्यादान लिन मनैले मानेन र रोकेंँ ।’ यसो गर्दा सुरुमा आफन्तले अप्ठेरो माने पनि अहिले सहज लिएको उनले बताइन् ।
धर्म र परम्पराका नाममा कतिपय लैंगिक रूपमा असहज लाग्ने चलन संस्कारका रूपमा चलेका छन् । यथार्थमा यी कुसंस्कार हुन् । महिला तथा बालबालिका कार्यालयका अनुसार पछिल्लो समय रूपन्देहीमा विधवाले रातो लुगा लगाउनु हुँदैन भन्ने समाजमा आफ्नै घरबाट रातो लुगा लगाइदिने, एकल महिलाको दोस्रो बिहे गरिदिने, मुस्लिम पतिले मुखले तीनपटक तलाक भने पनि पत्नीको सम्बन्धविच्छेद नगराइदिने, महिनावारी हुँदा छुइ बार्ने चलन हटाउने, महिलाबाटै पूजापाठमा प्रवचन गराउने जस्ता कामका सुरुवात भएका छन् । यस्ता काम कतै महिला आफैले स्वस्फुर्त गरेका छन् । कतै संघ–संस्था र महिला विकास सहकारी संस्थाबाट भएका छन् । भुक्तभोगी महिलाले नै सुरु गरेका अभियान प्रभावकारी छन् । कुसंस्कार तोड्ने कामले महिला हिंसा घटाउन र लैंगिक समानता कायम राख्न निकै सहयोग गर्छ । समुदायमा कतिपय कुसंस्कार धार्मिक र सामाजिक कानुनसरह रहेका छन् । यिनलाई हटाउन निरन्तर अभियान चाहिन्छ । धर्म र परम्परा अनुसार कुसंस्कार छुट्टाछुट्टै प्रकृतिका हुन्छन् । जाति, समुदाय, धर्म र उमेर अनुसार हुन्छन् । यसैले कुसंस्कार हटाउन सबै क्षेत्र र समुदायमा सचेतना फैलाउनुपर्छ । कुसंस्कार तोडेर समाजमा जिएका महिलालाई प्रोत्साहन र सहयोग गर्नुपर्छ । उनीहरूको खिसिट्युरी होइन, सिको गरेर हातमा हात र साथमा साथ मिलाउनुपर्छ । यसले मात्रै धर्म र परम्पराका रूपमा रहेका लैंगिक हिंसा र कुसंस्कार घटेर समानतामूलक समाज निर्माण हुनेछ ।