२२ बर्षमा अमेरिकामा माओवादी पीडित भन्दै शरण खोज्ने नेपाली झण्डै १७ हजार, ११ हजारको स्वीकृत


प्रकाशित मिति : आश्विन १, २०८० सोमबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार सन् २००१ यता अमेरिकामा युएससीआईएस र अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ११ हजार २ सय ८२ रहेको छ । जसमध्ये अधिकांशले आफू माओवादीबाट पीडित भएको दावी गर्दै आवेदन दिएका थिए ।

यसरी दावी गर्दै आवेदन दिनेहरुमध्ये ५ हजार ३ जनाको आवेदन युएससीआईएसले नै स्वीकृत गरेको थियो भने अध्यागमन अदालतबाट ६ हजार २ सय ७९ जनाको आवेदन स्वीकृत भएको थियो । २१९२ जनाको आवेदन भने अदालतबाट अस्वीकृत भएको थियो । त्यस्तै ९३ जनालाई अन्य प्रकारको राहत प्रदान गरिएको थियो ।

अहिले ४४१७ जना नेपालीको एसाइलम आवेदन अमेरिकाका विभिन्न अदालतहरुमा विचाराधिन रहेको छ । त्यस्तै युएससीआईएसमा आवेदन विचाराधिन रहेका नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । यसरी सन् २००१ यता झण्डै १७ हजार नेपालीहरुले अमेरिकामा शरणका लागि आवेदन दिएका छन् ।

अदालतबाट कुन बर्ष कतिले पाए ?

आर्थिक बर्ष २०२२ मा अमेरिकामा अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ५१२ जना रहेका छन् भने सन् २०२१ मा १७६ जना रहेका छन् । सन् २०२३ मा अहिलेसम्म १४१ जनाको एसाइलम स्वीकृत भएको छ ।

आर्थिक बर्ष २०२० मा अमेरिकामा अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ३३९ जना रहेका छन् । आर्थिक बर्ष २०१९ मा अमेरिकाको अदालतबाट ६४१ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक रहेको छ ।

सन् २०१० देखि सन् २०१९ सम्मको तथ्यांक हेर्दा अदालतबाट सबैभन्दा धेरै नेपालीको एसाइलम आर्थिक बर्ष २०१९ मा स्वीकृत भएको छ । सन् २०१८ मा ४८५, सन् २०१७ मा ३२१, सन् २०१६ मा २९५, सन् २०१५ मा २७७, सन् २०१४ मा ३२८, सन् २०१३ मा ४११, सन् २०१२ मा ४०८, सन् २०११ मा ३२७ र सन् २०१० मा २३१ जना नेपालीको एसाइलम अदालतबाट स्वीकृत भएको ईओआईआरएको तथ्यांक रहेको छ ।

कुन आर्थिक बर्षमा कतिको एसाइलम फैसला भयो भन्नेबारे विवरण ।

सन् २००१ मा अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ३१ रहेको थियो । २००२ मा ३७, सन् २००३ मा ५७, सन् २००४ मा ९३, सन् २००५ मा ८५, सन् २००६ मा १६५, सन् २००७ मा १३१, सन् २००८ मा १५४, सन् २००९ मा १७२ जना नेपालीहरुले अदालतबाट एसाइलम पाए । अमेरिका आएर एसाइलम आवेदन दिनेहरुमध्ये अधिकांशले माओवादीका कारण नेपालमा बस्न असुरक्षित भएको र फर्केर गएमा ज्यानको जोखिम हुने कारण पेश गरेका छन् । कतिपयले जातीय वा धार्मिक कारणले नेपालमा बस्न खतरा रहेको र फर्केर गएमा ज्यानको जोखिम रहेको कारण पेश गरेका छन् ।

अदालतबाट एसाइलम पाउनेहरु मेक्सिको हुँदै अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेका र विभिन्न भिसामा अमेरिका आएर एसाइलम दावी गर्दा युएससीआईएसबाट एसाइलम स्वीकृत नभई अदालतमा पठाइएकाहरु हुन् ।

 

युएससीआईएसबाट कति ?

अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या उल्लेख्य रहेपनि पछिल्ला बर्षमा युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या भने निकै कम रहेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीको संख्या २०२१ मा जम्मा १९ रहेको छ । आर्थिक बर्ष २०२० मा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीको संख्या जम्मा १६ रहेको थियो ।

आर्थिक बर्ष २०१९ मा जम्मा ३५ जना नेपालीहरुको एसाइलम युएससीआइएसबाट स्वीकृत भएको थियो । विगत १३ बर्षमा झण्डै ३ हजार नेपालीको एसाइलम युएससीआईएसबाट नै स्वीकृत भइसकेको छ । जस अन्तरगत सन् २०१० मा ४०८, सन् २०११ मा ४१५, सन् २०१२ मा ५८०, सन् २०१३ मा ४७४, सन् २०१४ मा २६३, सन् २०१५ मा ३५५, सन् २०१६ मा २३५, सन् २०१७ मा १४७ र सन् २०१८ मा ९१ जना नेपालीहरुको एसाइलम युएससीआइएसबाट स्वीकृत भएको थियो ।

सन् २०१० अगाडि युएससीआइएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या झण्डै २ हजार रहेको थियो । सन् २००० देखि सन् २००९ सम्म १९८४ जना नेपालीहरुको एसाइलम युएससीआइएसबाटै स्वीकृत भएको थियो । जस अन्तरगत सन् २००० मा १८, सन् २००१ मा २१, सन् २००२ मा ६९, सन् २००३ मा १४२, सन् २००४ मा १६३, सन् २००५ मा २२८, सन् २००६ मा २११, सन् २००७ मा २८३, सन् २००८ मा ३४९ र सन् २००९ मा ५ सय जना नेपालीहरुको एसाइलम युएससीआइएसबाट स्वीकृत भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com