बिरामी जाँच्दै कोइराला


प्रकाशित मिति : भाद्र २, २०७४ शुक्रबार

भाद्र २, २०७४- कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला राजनीतिमा मात्र सक्रिय छैनन् । विपत्तिमा परेका पीडितका घरमा पनि पुग्छन् । स्वास्थ्य जाँच गर्न अघि सर्छन् । उनले बुधबार विराटनगर महानगरपालिका– १९ बैजनाथपुरका बाढीपीडितको स्वास्थ्य जाँच गरे ।

बाढी गएपछि उनी मोरङका विभिन्न ठाउँ पुगे । पीडितको अवस्थाबारे जानकारी लिँदै सहयोग गरिरहेका छन् । ‘बाढी प्रभावितको अवस्था दयनीय छ,’ उनले भने, ‘रुघाखोकी, ज्वरो आउने र झाडापखालाको प्रकोप देखिएको छ ।’ कोइराला कांग्रेस नेत्री तथा आमा नोनाको नाममा खोलिएको नोना कोइराला स्मृति प्रतिष्ठानमार्फत स्वास्थ्य शिविरमा सहभागी भइरहेका हुन् ।

शुक्रबार साँझसम्म दाताहरूबाट ८ लाख मूल्य बराबरको औषधि संकलन गरी शिविर राख्ने तयारीमा जुटेको उनले बताए । कोइरालाले विराटनगर महानगरपालिकाका–४ र १९ वडाका पीडितको स्वास्थ्य जाँचसमेत गरेका छन् ।

महानगरका सबै वडामा शिविर राख्ने उनको योजना छ । बुधबार विराटनगर–१९ घिनाघाट उत्तर रहेको मुसहर बस्तीमा सञ्चालित स्वास्थ्य शिविरमा नेता कोइरालाले बिरामी जाँचेका थिए । बाढीका कारण सर्वस्व गुमाएका पीडितहरू आर्थिक अभावले उपचारका लागि अस्पताल जानसमेत सकेका छैनन् । बाढीबाट विस्थापितहरू बिरामी पर्न थालेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com