श्रीमती र छोरी गुमाएँ, घर बगायो’


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

– पर्वत पोर्तेल

भाद्र १, २०७४- झापा गाउँपालिका-३ सिमलबारीका टेकबहादुर दर्नाल अहिले दोहोरो पीडामा छन् । गत शुक्रबार राति कन्काई नदीमा आएको बाढीले ३५ वर्षीय श्रीमती कमला र ३ वर्षकी सानी छोरी खुसीलाई लुटेर लग्यो । आमा–छोरीसँगैसँगै घर पनि बग्यो ।  दर्नाल अहिले बेघर भएका छन् । बेघर उनी नातेदारको आश्रयमा छन् ।

मेचीनगर-१२ खहरेडाँगीस्थित आफन्त (शरमान बराइली) को घरमा उनले श्रीमती र छोरीको काजकिरिजा गरिरहेका छन् । ‘घर बगाउँदा केही थिएन, तर श्रीमती र छोरी नै वगाउँदा पीडा सहनै गाह्रो भइरहेको छ,’ आइतबारदेखि श्रीमती र नाबालिका छोरीको किरियामा बसेका टेकबहादुर भक्कानिए,‘यस्तो पीडा कसैले भोग्नु नपरोस् ।’

गत शुक्रबार राति घनघोर वर्षा हुँदा टेकबहादुर श्रीमती र सानी छोरीसँगै घरमा थिए । मध्यराति कन्काईको बाढी गाउँ पस्यो ।  परिवारका तीनै जना ज्यान जोगाउन हत्तपत्त उठे । छिमेकमा गुहार मागे । तर, छिमेकी पनि ज्यान जोगाउन घर छाडेर भागिसकेका रहेछन् ।  ‘श्रीमतीले घर छेउको गोठमा बाँधेको गोरु फुकाएर आउनु पर्खिएर बस्छु भनेकी थिइन्’, टेकबहादुरले घटनाको बेलीबिस्तार लगाए,‘गोरु फुकाएर आउँदा न श्रीमती थिइन्, न छोरी नै ।’

टेकबहादुर गोरु फुकाउन गएकै बेला कन्काईको भेल घरमा पसेछ । अनि आमा–छोरीलाई बगाएछ । उनको ज्यान संयोगले बच्यो ।  मध्यरातमा बगाएका आमा–छोरीलाई खोजी हेरे । तर, भेटेनन् । ‘मलाई पनि ज्यान बचाउन हम्मे पर्‍यो,’ टेकबहादुरले सुनाए, ‘धन्न, कसो कसो गरेर म चाहिँ बाँचेछु ।’ उनले अलि कम पानी भएको स्थानमा उभिएरै रात कटाए ।

बिहान छरछिमेकको सहयोगमा श्रीमती र छोरीलाई खोज्दै जाँदा घरदेखि करिव ३ किलो मिटर दक्षिण शव फेला पारे । वाढीले किनारा लगाएर छाडेको अवस्थामा । पानी परिरहेकै थियो ।

सुरक्षाकर्मीहरु पुग्न सक्ने अवस्था थिएन । वर्षा कम भएपछि वाढी पनि घट्यो त्यसपछि प्रहरीको सहयोगमा शव पहिचान गरेर ल्याए । आइतबार आमा–छोरीको एउटै चितामा सद्गत गरे ।

नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभाग आपतकालिन कार्यसञ्चालन केन्द्र भद्रपुरका अनुसार झापामा चार दिनको वर्षापछि आएको वाढीले १२ जना सर्वसाधारणको मृत्यु भएको छ ।

तीन जना अझै बेपत्ता छन् । राजमार्गका र राजमार्ग दक्षिणका ७ नगर र ६ गाउँपालिकाका करिव २ हजार १९ परिबार प्रभावित भएका छन् । १ हजार ८ सय ९६ परिवार विस्थापित बनेका छन् भने १२ परिवारको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com