सुन काण्डमा पक्राउ परेका ४ विदेशीसित नेपाली नागरिकता


प्रकाशित मिति : भाद्र ३, २०८० आईतबार

काठमाडौं । बहुचर्चित सुन प्रकरणमा राजस्व अनुसन्धान विभागद्वारा पक्राउ गरिएका मध्ये ४ जना विदेशी नागरिकसित नेपाली नागरिकता फेला परेको छ ।

अभियुक्त ३ जनासित जिल्ला प्रशासन कार्यालय काभ्रे र एक जनासित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी गरिएको नागरिकता फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभएको छ ।
विभागले साउन ३ गते हङकङबाट तस्करी गरी ल्याएको सुन बरामद गरी त्यससँग सम्बन्धित व्यक्तिहरुलाई समेत पक्राउ गरेको थियो । अनुसन्धान कार्य अघि बढाउँदै जाँदा सो कार्य संगठित अपराधको प्रकृतिको रहेको भन्दै थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बुझाएको थियो ।

सुन तस्करीका अभियुक्त चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको हो । अभियुक्त दावा छिरिङ, अर्का चिनियाँ नागरिक डिङ सेग्फा र ली नेङ्काईले अन्य नामबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको भेटिएको हो । अन्य दुई जनाको साथमा भने भारतीय आधारकार्ड फेला परेको प्रहरीको भनाई छ ।

साउन ३ गते क्याथे प्यासेफिकको उडानबाट राजधानी काठमाडौंमा डिस्क ब्रेक सुमा लुकाई ल्याइएको सुन भन्सार पास भई बाहिर निस्किएपछि गेटैबाट राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो ।

त्रिभुवन विमानस्थलमा भन्सार जाँचपासमा संलग्न भएका कर्मचारीहरुलाई निलम्बन गरिएको थियो भने अन्य कर्मचारीमाथि छानविन गर्न विभागले एक जना निर्देशकको नेतृत्वमा छानविन समिति पनि गठन गरेको थियो ।
अवैध रुपमा सुन तस्करी भइरहेको सूचनाको आधारमा विभागको टोलीले बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिएपछि सुन तस्करीको जालो सार्वजनिक भएको हो ।

त्यतिबेला १०० किलो सुन बरामद गरिएको प्रारम्भिक सूचना बाहिरिएको भएपनि राष्ट्र बैंकले नामजाँच गर्दा ६० किलोमात्र सुन रहेको विवरण सार्वजनिक भइसकेको छ ।

सुन प्रकरणको अनुसन्धानलाई प्रभावकारी बनाउने भन्दै यसलाई संगठित अपराधसँग जोडेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

राजस्व अनुसन्धानको कार्य राजस्व अनुसन्धान विभागबाट हुने भएपनि संगठित अपराधको प्रकृतिको देखिएको भन्दै नेपाल सरकारका महान्यायाधिवक्तासमेतको रायसुझावका आधारमा यो मुद्धा अहिले केन्द्रीय अनुसन्धान ब्यूरोले हेरिरहेको छ ।

सुन प्रकरणमा विभिन्न कनेक्सनहरुको पर्दाफाससमेत भइरहेको छ । ब्यूरोको अनुसन्धानबाट थप तथ्यहरु खुल्दै गइरहेको पाइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com