विदेश पठाउने भन्दै टिकटकमा विज्ञापन गरि भ्रम फैलाउने दुई म्यानपावरलाई दुई लाख जरिवाना


प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार

वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने झुटो आश्वासन देखाउँदै राहदानी संकलन गर्ने दुई म्यानपावरलाई कारबाही गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ विपरीतका क्रियाकलापमा संलग्न क्यापिटल रिक्रूटमेन्ट सर्भिसेज प्रालि र ईगल म्यानपावर कन्सल्टेन्ट प्रालिलाई दुई लाख जरिवाना तिराएको विभागका निर्देशक कविराज उप्रेतीले बताए ।

यस्तै, वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभागको स्वीकृति नलिई सामाजिक सञ्जालमा विज्ञापन गरी राहदानी सङ्कलन गरेको पाइएपछि ललितपुरका दुईवटा म्यानपावरका कागजात जफत गरेको छ । वैदेशिक रोजगार ऐनको दफा १० विपरीत वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन सामाजिक सन्जालमा प्रकाशन गरी भ्रम सृजना गर्ने सुयान एजुकेशन प्रालि र एलाईट टु बर्क ह्युमन रिसोर्सेस हम्पिटालिटी एन्ड ट्रेनिङ सेन्टरको अनुगमन गरी अनुसन्धान समेत बढाएको हो ।

विभागले अनुमतिबिना सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीको प्रचार नगर्न वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई सचेत गराएको छ । त्यस्तै, वैदेशिक रोजगारीमा जान इच्छुकले सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न समेत विभागले आग्रह गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com