त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘स्वघोषणा कक्ष’ सञ्चालन, यात्रुलाई कस्तो फाईदा हुन्छ ?


प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालनमा ल्याइएको छ । विमानस्थल भन्सार कार्यालयले नेपाल आउने यात्रुहरुको सहजताको लागि आफूसँग ल्याएको सामानको स्वयं घोषणा गर्न पाउने व्यवस्था मिलाएको हो । यात्रुले आफू सँग भएको र तोकिएको भन्दा धेरै सामानको भन्सार महसुल बुझाइ सजिलै लैजान पाउने छन् ।  विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजांच एक्सरे मेशिनमा पुग्नु अगावै स्वयं घोषणाको सुविधा पाउने छन् ।

विदेशबाट फर्किदा यात्रुहरुले आफ्नोसहित अरुका सामाग्री पनि बोकेर आउने गरेका छन् । सुन, मोबाइल, टेलिभिजन लगायतका सामाग्री ल्याउने गरेका छन् । यात्रुले विदेशबाट मापदण्ड भन्दा बढी सामान ल्याउने र स्वघोषणा नगरी बाहिँदा भन्सार छली अनुसारको कारबाही भोग्ने गरेका छन् ।  कतिपय सर्वसाधारणहरु भन्सार सम्बन्धि जानकारीबाट बञ्चित हुँदा विदेशबाट ल्याएका सामानहरु भन्सारमै जफत हुने गरेका छन् ।

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था :

– कति सुन ल्याउन पाइन्छ ?
विदेशबाट महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । एकजना व्यक्तिले (महसुल तिर्नु नपर्नेः महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप २०० ग्राम सम्म सुनको गहना भन्सार महसुल तिरेर साथमा ल्याउन पाउँछ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता हुँदैन् ।

– मोबाइल कति वटा सम्म ल्याउन पाइन्छ ?
विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँछ । तर, यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।

– टेलिभिजनको हकमा के छ प्रावधान ?
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com