दाजुभाई दिदीबहिनीका छोराछोरीबीच लगायत नजिकका नातेदारबाट जन्मेका बच्चामा कस्तो असर पर्छ ?


प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार

Infant's feet being held by a woman's hand with painted and manicured hands resting on a gray blanket

दाजुभाई दिदीबहिनीका छोराछोरीबीच लगायत अन्य नजिकका नातेदारहरुबीच विवाह गरेर वा नगरिकनै जन्मेका बच्चामा पर्ने शारीरिक, मानसिक र अन्य असरबारे विभिन्न अध्ययन र शोधहरु हुँदै आएका छन् । त्यस्ता बच्चाहरुमा जन्म दोष र आनुवंशिक विकारहरूको बढ्दो जोखिम रहेको विभिन्न अध्ययन र शोधहरुले देखाएको छ । खासगरी विश्वभर कतिपय समुदायहरुमा दाजुभाई दिदीबहिनीका छोराछोरीबीच विवाह हुने प्रचलन रहेका कारण यसबारे बेलाबेलामा बहस हुने गरेको छ भने यसका विभिन्न जोखिमबारे चर्चा हुने गरेको छ ।

जब आमाबाबुले जीन शेयर गर्छन्, त्यहाँ उनीहरूको बच्चाले हानिकारक रिसेसिभ जीनको दुई प्रतिहरू प्राप्त गर्ने सम्भावना धेरै हुने अध्ययनले देखाएको छ । जसले जन्म दोष वा आनुवंशिक विकार निम्त्याउन सक्छ। जब बाबुआमाहरु सहोदार दाजुभाई दिदीबहिनीका छोराछोरीहरु हुन्छन्, त्यस्तो अवस्थामा बच्चाहरुमा जन्म दोषको जोखिम सबैभन्दा बढी हुन्छ । तर टाढाका नातेदारहरुबीच समेत जन्मदोषको जोखिम केहीमात्रामा हुने अध्ययनहरुले देखाएका छन् ।

सन् २००२ मा अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित एक अध्ययनले सहोदार दाजुभाई दिदीबहिनीका छोराछोरीहरुबाट जन्मेका बच्चाहरूमा अन्य नाता नपर्ने असम्बन्धित आमाबाबुबाट जन्मेका बच्चाहरूको तुलनामा जन्म दोष हुने सम्भावना दोब्बर रहेको पत्ता लगाएको थियो । उक्त अध्ययनले सहोदार दाजुभाई दिदीबहिनीका छोराछोरीहरु अर्थात फस्र्ट कजनबाट जन्मेका बच्चाहरूलाई बौद्धिक अपाङ्गता र अटिज्म हुने सम्भावना बढी हुने पत्ता लगाएको थियो । अमेरिकी सरकारको नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित रिपोर्ट र रिपोर्टको अन्तिममा रहेका केही रिसर्चहरुमा यसबारे विस्तृतमा चर्चा गरिएको छ । जुन यहाँ पढ्न सक्नुहुनेछ । 

द ल्यान्सेटमा प्रकाशित एउटा रिसर्चमा पनि निकट नातेदारबीच विवाहबाट जन्मने बच्चामा प्रभावको बारेमा अनुसन्धान गरिएको थियो । यो अध्ययन सन् २००७ र २०११ को बीचमा जन्मेका ११,३९६ बच्चाहरुमा आधारित थियो । यो रिसर्चमा समावेश कुल १८ प्रतिशत बच्चाहरू पहिलो कजन आमाबाबुबाट जन्मेका थिए। औसतमा फर्स्ट कजिनका छोराछोरीहरूमा अन्य असम्बन्धित जोडीहरूमा जन्मेका बच्चाहरूको तुलनामा जन्मजात विसंगतिको साथ जन्मिने खतरा झण्डै साढे ३ प्रतिशत बढी रहेको रिसर्चले पत्ता लगाएको थियो । उक्त रिसर्चको पूर्णपाठ पढ्न यहाँ क्लीक गर्नुहोला । 

यसबारे गार्डियनले पनि समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पढ्न यहाँ क्लीक गर्नुहोला । 

सन् २००५ मा ब्रिटिस जर्नल अफ साइकियाट्रीमा प्रकाशित एउटा अध्ययनले असम्बन्धित आमाबाबुबाट जन्मेका बालबालिकाको तुलनामा फर्स्ट कजनबाट जन्मेका बच्चाहरूलाई सिजोफ्रेनिया नामको मानसिक समस्या हुने सम्भावना बढी रहेको पाइएको पत्ता लगाएको थियो। सिजोफ्रेनिया नामको मानसिक समस्याको जोखिमबारे थप यहाँ पढ्न सक्नुहुनेछ । 

अध्ययनले सिजोफ्रेनियाको जोखिम कति बढी हुने भन्ने कुरा आमाबाबु बीचको नाता सम्बन्धको डिग्रीसंग सम्बन्धित भएको पत्ता लगाएको थियो । किनभने कजनहरुको प्रकार धेरै हुने गर्छ ।

यदि दाजुभाई दिदीबहिनीको बच्चाहरुबीचको सम्बन्धलाई फस्र्ट कजन भनिन्छ भने फस्र्ट कजनहरुबाट जन्मेका बच्चाहरुबीचको सम्बन्धलाई सेकेण्ड कजन भनिन्छ । फर्स्ट कजनहरू नजिकका नातेदारहरू मानिन्छन् भने सेकेन्ड कजनहरू कम मानिन्छन् । आधा दाजुभाइ दिदीबहिनीहरू पनि नजिकका नातेदारहरू हुन्छन् किनभने उनीहरुका पनि बाबु वा आमा साझा गरिएको हुन्छ ।

एकअर्कासँग घनिष्ठ सम्बन्ध भएका परिवारका सदस्यहरूले बढी डीएनए साझा गर्छन्। उदाहरणका लागि तपाईंको सहोदर दाजुभाइले तपाईंको डीएनएको ५० प्रतिशत शेयर गर्दछ जबकि आधा भाइबहिनीले मात्र २५ प्रतिशत शेयर गर्छन्। त्यसैगरी, तपाइँको पहिलो कजनले तपाइँको डीएनएको साढे १२ प्रतिशत शेयर गर्दछन् भने दोस्रो कजन अर्थात् दाजुभाई दिदीबहिनीका नातिनातिनीले लगभग ३ प्रतिशत डीएनए शेयर गर्छन् ।


परिवारका सदस्यहरू बीचको आनुवंशिक सम्बन्ध देखाउने चार्ट । यी संख्याहरूले तपाइँ र प्रत्येक नातेदार बीच शेयर हुने डीएनएको प्रतिशतलाई संकेत गर्दछ। फोटो: विकिमिडया

नजिकका नातेदारहरू बीचको विवाहले केही आनुवंशिक चिन्ताहरूको सम्भावना बढाउँछ। विशेष गरी यसले रिसेसिभ अवस्था भएको बच्चा हुने सम्भावना बढाउँछ।

जीनहरू छुट्टा छुट्टै एकाइहरू हुन् जसले हाम्रो डीएनए बनाउँछ। हामी सबैसँग प्रत्येक जीनको दुई प्रतिहरू हुन्छन्, एउटा आमाबाट र अर्को बुबाबाट। यद्यपि सबै मानिसहरूसँग ९९ प्रतिशत समान डीएनए भएपनि त्यहाँ केही भिन्नताहरू हुन्छन् । केही भिन्नताहरुका कारण शारीरिक भिन्नताहरू उत्पन्न गराउँछ, जस्तै कपाल वा आँखाको रङ। अन्य भेरियन्टहरू तटस्थ हुन्छन् र केहि असर गर्दैनन् । तर केही डीएनए भिन्नताहरूले रोगहरू निम्त्याउँछ।

कहिलेकाहीँ जीनको एक प्रतिलिपिमा भिन्नता हुनु नै रोग निम्त्याउन पर्याप्त हुन्छ। तर रोग निम्त्याउन सक्ने जिनहरु अर्थात् रिसेसिभ अवस्था भएका त्यस्तो व्यक्तिले मात्र रोग विकास गर्नेछ जब तिनीहरूको जीनका दुवै प्रतिलिपिहरूमा उत्परिवर्तन हुन्छ। हामी प्रत्येकले रिसेसिभ अवस्थाहरूसँग सम्बन्धित औसत १२ आनुवंशिक भिन्नताहरू बोक्छौं। यद्यपि हामीसँग प्रत्येक जीनको दुई प्रतिहरू हुन्छन् भने त्यहाँ सामान्यतया जीनको स्वस्थ संस्करण पनि हुन्छ। यसको मतलब ती प्रत्येक अवस्थाहरूमा हामीले सामान्यतया योसँग सम्बन्धित रोगको विकासको बारेमा चिन्ता लिनु पर्दैन।

तर यदि तपाईंले आफ्नो जस्तै रिसेसिभ भेरियन्ट भएको कसैसँग विवाह गर्नुभयो भने तपाईंको बच्चालाई यो अवस्था हुन सक्ने सम्भावना छ। त्यो अवस्था हरेक ४ जनामध्ये एकजनामा अर्थात् २५ प्रतिशत हुने एक अध्ययनले देखाएको छ । तपाईले कसैसँग जति धेरै डीएनए शेयर गर्नुहुन्छ, तपाईसँग एउटै रोग निम्त्याउने भेरियन्टहरु हुने सम्भावना बढी हुन्छ। त्यसकारण यदि तपाईंले आफूसँग नजिकको सम्बन्ध भएको कसैसँग विवाह गर्नुभयो भने त्यहाँ रोग निम्त्याउन सक्ने जिनहरु भएको बच्चा जन्माउने सम्भावना उच्च हुन्छ।

क्लिनिकल जेनेटिक्स ह्यान्डबुकका अनुसार गैर सम्बन्धित दम्पतीका बच्चाहरूमा जन्म दोषको साथ जन्मिने सम्भावना ३ प्रतिशतसम्म हुन्छ भने दाजुभाई दिदीबहिनाीका छोराछोरी अथाएत् फस्ट कजिनका बच्चाहरूमा ६ प्रतिशतसम्म सम्भावना हुन्छ।

एक स्विडेनी राष्ट्रिय अध्ययनले पत्ता लगाएको छ कि असम्बन्धित आमाबाबुबाट जन्मेका छोराछोरीहरू भन्दा फस्ट कजिनबाट जन्मेका बच्चाहरू अपराधको दोषी हुने सम्भावना बढी हुन्छ। अपराध र पारिवारिक माहौल, स्वीडिश राष्ट्रीय उच्च जोखिम भएका घरमा पालिएका वा धर्मपुत्र पुत्री लिइएका भाईबहिनी नियन्त्रण अध्ययन नामको उक्त रिसर्च विश्व प्रख्यात क्याम्ब्रिज युनिभर्सिटीले प्रकाशित गरेको थियो ।यसबारे क्याम्ब्रिजमा अन्य धेरै रिसर्चहरुपनि प्रकाशित भएका छन् । स्विडेनी जनसंख्या आधारित अध्ययनमा दाजुभाई दिदीबहिनीका सन्तानबीच भएको यौन सम्पर्कबाट जन्मेका बच्चाहरूमा अपराधको दोषी ठहरिने जोखिम १ दशमलव ७ प्रतिशत बढेको फेला पारेको थियो । उक्त रिसर्चको पूर्णपाठ पढ्न यहाँ क्लीक गर्नुहोला ।

पहिलो कजनहरूबाट जन्मने बच्चाहरु असम्बन्धित आमाबाबुको तुलनामा गम्भीर जन्म दोष, मानसिक मंदता वा आनुवंशिक रोग भएको बच्चा हुने सम्भावना केही हदसम्म बढी हुने तर तिनीहरूको बढ्दो जोखिम धेरै मानिसहरूले सोचे जति ठूलो नभएको एक रिपोर्ट वैज्ञानिकहरूले सार्वजनिक गरेका थिए । न्युयोर्क टाइम्सले समेत कभर गरेको रिपोर्टमा सामान्य जनसङ्ख्यामा,स्पाइना बिफिडा वा सिस्टिक फाइब्रोसिसजस्ता गम्भीर समस्या लिएर बच्चा जन्मने जोखिम ३ प्रतिशतदेखि ४ प्रतिशत हुने र पहिलो कजनबाट जन्मिने बच्चाहरुमा उक्त जोखिम त्योभन्दा झण्डै ३ प्रतिशत बढी हुने उल्लेख थियो । यसबारे न्युयोर्क टाइम्समा प्रकाशित समाचार पढ्न यहाँ क्लीक गर्नुहोला । 

यो वृद्धिले जोखिमको लगभग दोब्बरलाई प्रतिनिधित्व गर्दछ तर पनि परिणाम अझै पनि पर्याप्त ठूलो मानिएको छैन । यसबारेमा अझै पनि कैयन बैज्ञानिक रिसर्चहरु भइरहेका छन् । अहिलेसम्म भएका रिसर्चहरुबारे पनि वैज्ञानिकहरुको मतविभाजन रहेको छ । तर अधिकांश के कुरामा सहमत छन् भने दाजुभाई दिदीबहिनीका छोराछोरीबीचको यौन सम्बन्धबाट जन्मेका बच्चाहरुमा केही हदसम्म शारीरिक र मानसिक समस्या हुने जोखिमको सम्भावना भने अन्यको तुलनामा उच्च रहेको हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com