‘महिनामा ६० हजारबढी नेपाली विदेशिन्छन्’ : गुरुदत्त सुवेदी, निर्देशक, वैदेशिक रोजगार विभाग


प्रकाशित मिति : असार २५, २०८० सोमबार

नेपालीहरु रोजगारीको लागि विदेशिने क्रम दिनानुदिन बढ्दो अवस्थामा छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरूको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको १२ महिनामा साढे सात लाख भन्दा बढीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । नेपाली युवाहरु यसरी कुन-कुन देश गइरहेका छन् ? ठगी तथा विदेशमा अलपत्र परेका घटनाहरुको अवस्था के छ ? यी विषयमा वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीसँग खसोखासका लागि सुरज घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखिने युवाहरुको भिडभाडबाट अनुमान लगाउन सकिन्छ, कि युवाहरु रोजगारीको लागि विदेशीन बाध्य छन् । वैदेशिक रोजगार विभागको तथ्यांकले के भन्छ ?
वैदेशिक रोजगार विभागको तथ्यांकमा वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको छ । दिनैपिच्छे श्रमस्वीकृति लिने बढिरहेका छन् । चालु आर्थिक वर्षमा मात्रै श्रम स्वीकृति लिएर विदेशिने नेपालीको संख्या ७ लाख ५१ हजार ८ सय ४ जना नाघेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलना यो वर्ष श्रम स्वीकृति लिने लाखौंको संख्यामा बढेका छन् । अघिल्लो आर्थिक वर्षमा ६ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको असार २२ सम्म मात्रै ७ लाख ५१ हजार बढीले श्रम स्वीकृति लिइसके । अझ भनौं, आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जाने नेपाली यस चालु आर्थिक वर्षमा बढेका हुन् । श्रम स्वीकृति लिएर प्रत्येक महिना ६० हजारभन्दा बढी विदेशिने गरेका छन् । वैशाखमात्रै विश्वका ९० वटा देशमा ५४ हजार चार सय ५७ जना रोजगारीका लागि गएका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी

– अहिले नेपालीहरुको रोजाइँमा कुन-कुन देशहरु रहेका छन् ? उनीहरुले के काम गर्छन्  ?
पहिले विशेष गरि अरेबियन र खाडी मुलुकमा जानेहरु बढी हुन्थे । तर, अहिले पनि बढी त त्यता नै जाने गरेपनि विभिन्न यूरोपियन मुलुकहरु रोमानिया, क्रोएसिया, पोर्चुगल लगायतका देशमा जानेहरु पनि बढिरहेका छन् । अन्यत्र मुलुक जस्तै पछिल्लो समय युरोपियन मुलुकहरु नेपालीहरुको आकर्षकको गन्तव्य बनेको देखिन्छ । असार महिनाको तथ्यांक हेर्ने हो भने चाँही नेपाली कामदार सबैभन्दा धेरै मलेसिया गएका छन्। श्रमस्वीकृति लिई २ लाख ५५ हजार ६ सय २२ जना नेपाली कामदार यही असार महिनामा मात्र मलेसियामा गएका छन्। खासगरी नेपालीहरु विदेशी मुलुकमा मजदुरको रुपमै जाने गरेका छन् । त्यसमा पनि कारखाना, घरेलु, निर्माण क्षेत्र, सुरक्षागार्डको रुपमा काम गर्न गइरहेका छन् ।

– नेपाली दूतावास नै नभएको मुलुकामा पनि नेपालीहरु पुगेका छन् नि ? त्यसलाई तपाइँहरुले कसरी हेर्नुभएको छ ?
सामान्यतया पोर्चुगल भनौं अथवा साइप्रस भनौं, विभिन्न देशमा भिसा लिएर जाने र त्यहाँ केही समय काम गरिसकेपछि अन्य मुलुकहरुमा सर्ने गरेको पाइएको छ । अन्य आर्कषक मुलुकहरुमा बिना कामजाग सर्नेहरु बढेको हुनाले नेपालमा वैधानिक रुपमा श्रम स्विकृति नलिएका मुलुकहरुमा पनि नेपालीहरु गएर देखिने गरेको छ । त्यो चाँही निश्चित क्षेत्रबाट ट्रान्जिट रुपमा प्रयोग भएको हुनसक्ने हामीलाई लागिरहेको छ ।

वैदेशिक रोजगार विभाग

– विदेश पठाउने भनेर ठगीएको भन्दै आउने गुनासाहरुको अवस्था के छ ?
जसरी वैदेशिक रोजगारमा जाने यूवाहरुको संख्या बढिरहेको छ, त्यसरी नै उजुरी र गुनासाहरु पनि बढिरहेका छन् । ठगीका मुद्धाहरु हेर्दा विशेषगरी म्यानपावर व्यवसायीले एउटा काम भनेर अर्को काम लगाइदिएको, पैसा लिएर नपठाएको भन्ने पनि छन् । त्यसैगरी व्यक्तिगत रुपमा आफ्नै नातागोताको हिसाबले म्यानपावरको एजेन्ट हुँ भन्दै ठगि गरेको उजुरीहरु पनि आउने गरेका छन् । जसरी संख्या बढिरहेको छ, त्यही अुनपातमा हामी ठगियौं भन्ने पीडितहरुको संख्या पनि बढ्दो क्रममा छ । त्यसो भएकोले हामीले यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ, सूचना तथा जनचेतना फैलाएर हुन्छ कि, बैंकमार्फत मात्र पैसा दिनुस्,यत्तिकै पैसा नबुझाउनुस् आधिकारीक म्यानपावर र कर्मचारीलाई मात्र पैसा बुझाउनु, पैसा बुझाइसकेपछि स्रोत खुलेको प्रमाण राख्नुस् भनेर भनिरहेका छौं । हामी लागिरहेका छौं । विस्तारै कमी आउँला तर अहिलेको अवस्थामा उल्लेखनीय रुपमा गुनासाहरु बढिरहेकै अवस्था छ ।

– दैनिक कति आउँछन् गुनासा तथा उजुरीहरु ?
दैनिक रुपमा सयबढी उजुरी तथा गुनासाहरु विभिन्न माध्यमबाट आइरहेको अवस्था छ ।

वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी

– ठगीका घटनाहरुलाई निराकरण गर्न तपाईहरुले के गर्नुभएको छ ?
हामीले सामान्यतया वैदेशिक रोजगारसँग सम्बन्धित, जसले विदेशमा पठाइसक्यो, पठाइसकेपछि पनि भनेको काम पाएन वा काम दिएन भनेर नेपाली कामदारहरु फर्किएर आइसकेपछि अथवा उहाँहरुको आफन्तहरुको माध्यमबाट यहाँ उजुरी र गुनासोहरु गर्नुहुन्छ । यदी यही हुनुहुन्छ भने छलफल गराएर मिलापत्र गराउने र मिलापत्र हुन सकेन् भने उहाँहरुको धरौटीको रकमबाट वा बैंक ग्यारेन्टीबाट पनि क्षतिपूर्ती दिइरहेको अवस्था छ । विदेश पठाउँछु भनेर कामदारहरुबाट पैसा लिएको छ वा पासपोर्ट लिएको छ तर पठाइरसकेको अवस्था छैन् भने त्यस्तोलाई बोलाएर छलफल गर्ने, मिलापत्र गराउने गरिरहेका छौं । यदी त्यसो भएन भने वैदेशिकक रोजगार न्यायाधिकरणमा चाँही मुद्धाको रुपमा अगाडी बढाउने काम गरिरहेको अवस्था छ । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको छ ।

यो पनि पढ्नुहोस् :

युरोपबाट ४० हजार कामदारको माग छ, पठाउन सक्ने अवस्था छैन : मेघनाथ भुर्तेल (अन्तर्वार्ता)

युरोपबाट ४० हजार कामदारको माग छ, पठाउन सक्ने अवस्था छैन : मेघनाथ भुर्तेल (अन्तर्वार्ता)

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com