आज न्युयोर्क सिटीमा प्राइमरी चुनावको दिन, कुन कुन पदका लागि चुनाव हुँदैछ?


प्रकाशित मिति : १२ असार २०८०, मंगलबार

आज न्युयोर्क सिटीमा प्राइमरी चुनाव भइरहेको छ । सिटी काउन्सिल, डिस्ट्रिक्ट एटोर्नी, सिभिल कोर्टका न्यायाधिसहरु र राजनीतिक दलका विभिन्न पदहरुमा आज प्राइमरी चुनाव भइरहेको हो । मतदानस्थलहरु विहान ६ बजेदेखि खुलिसकेका छन् भने राती ९ बजेसम्म खुल्ला रहनेछन् ।

यसभन्दा अगाडि अग्रिम मतदानको समेत व्यवस्था रहेको थियो । चुनावको दिनमा उपस्थीत हुन नसक्नेहरुका लागि नौ दिनको अग्रिम मतदान आइतबार सकिएको थियो । निर्वाचन बोर्डका अनुशार त्यस समयमा करिब ४४ हजार ६११ मत खसेको थियो । मेयरका लागि उम्मेदवारहरूले प्राइमरीमा प्रतिस्पर्धा गरेको दुई वर्ष अघिको अग्रिम मतदानको तुलनामा यो एक चौथाई भन्दा कम हो ।

यस पटक सिटी काउन्सिलका सबै ५१ सदस्यहरू आफ्नो सिट कायम राख्न आम चुनावमा दौडनेछन्। ती दौडहरूमध्ये आधाभन्दा कममा मात्र प्रतिस्पर्धा भइरहेको छ । र तीमध्ये १३ दौडहरूमा मात्र दुई भन्दा बढी उम्मेद्वारहरू छन् । जसका कारण १३ सिटी काउन्सिलमामात्र र्यांक च्वाइस मतदान आवश्यक भएको छ ।

ब्रोंक्स र क्वीन्समा डिस्ट्रिक्ट एटोर्नीका लागि प्राइमरीहरू भइरहेका छन् । प्राइमरीमा मतदानका लागि मतदातामा नाम दर्ता गर्दा दलको छनौट गरेको हुनुपर्छ । अर्थात् रजिष्टर्ड डेमोक्र्याट वा रजिष्टर्ड रिपब्लिकन लगायत रजिष्टर्ड राजनीतिक दलका व्यक्तिलेमात्र प्राइमरीमा मतदान गर्न पाउँछन् । प्राइमरीबाट दलको उम्मेदबार छनौट भएपनि अन्तिम मतदान आगामी नोभेम्बरमा हुनेछ ।

के हो र्‍याङक च्वाइस भोटिङ ?

सन् २०२१ देखि न्युयोर्क सिटीका अधिकारीहरुलाई मतदान गर्नका लागि नयाँ तरिका अपनाइएको छ । न्युयोर्क सिटीले सबै प्राइमरी र विशेष निर्वाचनमा र्‍याङक च्वाइस भोटिङ विधि अपनाउँछ । यो विधिबाट मतदान गर्दा न्युयोर्करहरुले पहिले भन्दा धेरै च्वाइसहरु प्राप्त गर्छन् ।

कुनै पनि पदका लागि एउटामात्र उम्मेदबारलाई भोट हाल्नुको साटो मतदाताहरुले ५ जनासम्म उम्मेदबारलाई रोजाईका आधारमा मतदान गर्न पाउँछन् । पहिलो, दोश्रो, तेश्रो , चौथो र पाँचौं रोजाइसम्मका उम्मेदबारलाई मतदान गर्न सकिन्छ । पहिलो कोलममा पहिलो रोजाईका उम्मेदबारलाई, दोश्रो कोलममा दोश्रो रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । यसैगरी तेश्रो, चौथो र पाँचौं रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । एउटामात्र उम्मेदबारलाई भोट हाल्न चाहनेहरुले एउटैलाईमात्र पनि भोट हाल्न सक्छन् ।

यसरी मतदानपछि ५० प्रतिशतभन्दा बढी भोट ल्याउने उम्मेदबारले चुनाव जित्नेछ । यदि कसैले पनि ५० प्रतिशतभन्दा बढी भोट नल्याएमा मतगणना दोश्रो चरणमा जानेछ । यो चरणमा सबैभन्दा कम मत ल्याउने उम्मेदबारलाई हटाइनेछ । यदि कुनै पनि मतदाताको पहिलो रोजाईको उम्मेदबार बाहिरिएको खण्डमा उक्त भोट दोश्रो रोजाईको उम्मेदबारमा जोडिनेछ । यसरी नै विजेता प्राप्त नहुँदासम्म कम भोट ल्याउनेलाई हटाउँदै मतगणना जारी राखिनेछ । जब कुनै उम्मेदबारले ५० प्रतिशतभन्दा बढी ल्याउनेछ, उसलाई विजेता घोषणा गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा नेपाली अमेरिकन मतदाता झण्डै ११ हजार

न्युयोर्क सिटीको चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकन मतदाता झण्डै ११ हजार रहेको विभिन्न तथ्यांकले देखाएको छ । खसोखासले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट प्राप्त तथ्यांक जोड्दा न्युयोर्क सिटीमा अमेरिकन नागरिकता लिने नेपालीमूलका व्यक्तिको संख्या ११ हजारको हाराहारीमा रहेको छ ।

यद्यपी प्राइमरीमा कुनै दलमा दर्ता भएका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुलेमात्र मतदान गर्न पाउने भएकाले प्राइमरीमा भाग लिनका लागि योग्य नेपाली मूलका मतदाताको संख्या भने कम रहेको छ । नेपाली मूलका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुको संख्या न्युयोर्कमा कति रहेको छ भन्ने यकिन छैन । तर ठूलो संख्यामा नेपालीहरुले यसरी आफूलाई डेमोक्र्याट्स वा रिपब्लिकनका रुपमा रजिष्टर्ड गराएका छैनन् । उनीहरुले नोभेम्बरको चुनावमा भने मतदान गर्न पाउनेछन् ।

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् । कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा अमेरिकाभर ५ हजार ७ सय ९४ र सन् २०२१ मा ७ हजार २ सय ३२ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२२ र २०२३ को तथ्यांक समेत जोड्दा ७५ हजार नेपालीले अमेरिकन नागरिकता लिइसकेका छन् ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

२०१५ सम्म २५ हजार नेपालीलाई अमेरिकी नागरिकता

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

कभरमा:  प्राइमरीमा अगिम मतदानपछि न्युयोर्कको क्वीन्स निवासी नवराज केसी जो अघिल्लो सिटी काउन्सिल चुनावको डेमोक्रेटिक प्राइमरीमा उम्मेदबार समेत थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com