आज न्युयोर्क सिटीमा प्राइमरी चुनावको दिन, कुन कुन पदका लागि चुनाव हुँदैछ?


प्रकाशित मिति : असार १२, २०८० मंगलबार

आज न्युयोर्क सिटीमा प्राइमरी चुनाव भइरहेको छ । सिटी काउन्सिल, डिस्ट्रिक्ट एटोर्नी, सिभिल कोर्टका न्यायाधिसहरु र राजनीतिक दलका विभिन्न पदहरुमा आज प्राइमरी चुनाव भइरहेको हो । मतदानस्थलहरु विहान ६ बजेदेखि खुलिसकेका छन् भने राती ९ बजेसम्म खुल्ला रहनेछन् ।

यसभन्दा अगाडि अग्रिम मतदानको समेत व्यवस्था रहेको थियो । चुनावको दिनमा उपस्थीत हुन नसक्नेहरुका लागि नौ दिनको अग्रिम मतदान आइतबार सकिएको थियो । निर्वाचन बोर्डका अनुशार त्यस समयमा करिब ४४ हजार ६११ मत खसेको थियो । मेयरका लागि उम्मेदवारहरूले प्राइमरीमा प्रतिस्पर्धा गरेको दुई वर्ष अघिको अग्रिम मतदानको तुलनामा यो एक चौथाई भन्दा कम हो ।

यस पटक सिटी काउन्सिलका सबै ५१ सदस्यहरू आफ्नो सिट कायम राख्न आम चुनावमा दौडनेछन्। ती दौडहरूमध्ये आधाभन्दा कममा मात्र प्रतिस्पर्धा भइरहेको छ । र तीमध्ये १३ दौडहरूमा मात्र दुई भन्दा बढी उम्मेद्वारहरू छन् । जसका कारण १३ सिटी काउन्सिलमामात्र र्यांक च्वाइस मतदान आवश्यक भएको छ ।

ब्रोंक्स र क्वीन्समा डिस्ट्रिक्ट एटोर्नीका लागि प्राइमरीहरू भइरहेका छन् । प्राइमरीमा मतदानका लागि मतदातामा नाम दर्ता गर्दा दलको छनौट गरेको हुनुपर्छ । अर्थात् रजिष्टर्ड डेमोक्र्याट वा रजिष्टर्ड रिपब्लिकन लगायत रजिष्टर्ड राजनीतिक दलका व्यक्तिलेमात्र प्राइमरीमा मतदान गर्न पाउँछन् । प्राइमरीबाट दलको उम्मेदबार छनौट भएपनि अन्तिम मतदान आगामी नोभेम्बरमा हुनेछ ।

के हो र्‍याङक च्वाइस भोटिङ ?

सन् २०२१ देखि न्युयोर्क सिटीका अधिकारीहरुलाई मतदान गर्नका लागि नयाँ तरिका अपनाइएको छ । न्युयोर्क सिटीले सबै प्राइमरी र विशेष निर्वाचनमा र्‍याङक च्वाइस भोटिङ विधि अपनाउँछ । यो विधिबाट मतदान गर्दा न्युयोर्करहरुले पहिले भन्दा धेरै च्वाइसहरु प्राप्त गर्छन् ।

कुनै पनि पदका लागि एउटामात्र उम्मेदबारलाई भोट हाल्नुको साटो मतदाताहरुले ५ जनासम्म उम्मेदबारलाई रोजाईका आधारमा मतदान गर्न पाउँछन् । पहिलो, दोश्रो, तेश्रो , चौथो र पाँचौं रोजाइसम्मका उम्मेदबारलाई मतदान गर्न सकिन्छ । पहिलो कोलममा पहिलो रोजाईका उम्मेदबारलाई, दोश्रो कोलममा दोश्रो रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । यसैगरी तेश्रो, चौथो र पाँचौं रोजाईका उम्मेदबारलाई भोट हाल्न सकिन्छ । एउटामात्र उम्मेदबारलाई भोट हाल्न चाहनेहरुले एउटैलाईमात्र पनि भोट हाल्न सक्छन् ।

यसरी मतदानपछि ५० प्रतिशतभन्दा बढी भोट ल्याउने उम्मेदबारले चुनाव जित्नेछ । यदि कसैले पनि ५० प्रतिशतभन्दा बढी भोट नल्याएमा मतगणना दोश्रो चरणमा जानेछ । यो चरणमा सबैभन्दा कम मत ल्याउने उम्मेदबारलाई हटाइनेछ । यदि कुनै पनि मतदाताको पहिलो रोजाईको उम्मेदबार बाहिरिएको खण्डमा उक्त भोट दोश्रो रोजाईको उम्मेदबारमा जोडिनेछ । यसरी नै विजेता प्राप्त नहुँदासम्म कम भोट ल्याउनेलाई हटाउँदै मतगणना जारी राखिनेछ । जब कुनै उम्मेदबारले ५० प्रतिशतभन्दा बढी ल्याउनेछ, उसलाई विजेता घोषणा गरिनेछ ।

न्युयोर्कमा नेपाली अमेरिकन मतदाता झण्डै ११ हजार

न्युयोर्क सिटीको चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकन मतदाता झण्डै ११ हजार रहेको विभिन्न तथ्यांकले देखाएको छ । खसोखासले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट प्राप्त तथ्यांक जोड्दा न्युयोर्क सिटीमा अमेरिकन नागरिकता लिने नेपालीमूलका व्यक्तिको संख्या ११ हजारको हाराहारीमा रहेको छ ।

यद्यपी प्राइमरीमा कुनै दलमा दर्ता भएका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुलेमात्र मतदान गर्न पाउने भएकाले प्राइमरीमा भाग लिनका लागि योग्य नेपाली मूलका मतदाताको संख्या भने कम रहेको छ । नेपाली मूलका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुको संख्या न्युयोर्कमा कति रहेको छ भन्ने यकिन छैन । तर ठूलो संख्यामा नेपालीहरुले यसरी आफूलाई डेमोक्र्याट्स वा रिपब्लिकनका रुपमा रजिष्टर्ड गराएका छैनन् । उनीहरुले नोभेम्बरको चुनावमा भने मतदान गर्न पाउनेछन् ।

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् । कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा अमेरिकाभर ५ हजार ७ सय ९४ र सन् २०२१ मा ७ हजार २ सय ३२ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२२ र २०२३ को तथ्यांक समेत जोड्दा ७५ हजार नेपालीले अमेरिकन नागरिकता लिइसकेका छन् ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

२०१५ सम्म २५ हजार नेपालीलाई अमेरिकी नागरिकता

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

कभरमा:  प्राइमरीमा अगिम मतदानपछि न्युयोर्कको क्वीन्स निवासी नवराज केसी जो अघिल्लो सिटी काउन्सिल चुनावको डेमोक्रेटिक प्राइमरीमा उम्मेदबार समेत थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com