किन हुन्छ कलाकारमाथि स्टेजमा आक्रमण?
प्रकाशित मिति : असार ११, २०८० सोमबार
नेपाली कलाकारमाथि बेलाबेलामा स्टेजमा आक्रमण हुने घटना दोहोरिने गरेका छन् । नेपाली कलाकारमाथि प्रस्तुतीका क्रममा बोतल, क्यान वा अन्य बस्तु प्रहार गर्नेमात्र नभई स्टेजमै चढेर समेत आक्रमण हुने घटना हुने गरेपछि कार्यक्रम गर्दा सुरक्षाको प्रश्न बारम्बार उठ्ने गरेको छ ।
रोमानियामा सांगितिक प्रस्तुती दिइरहेका बेला चर्चित गायक प्रकाश सपुतमाथि एकजना व्यक्तिले वियरको क्यान प्रहार गरेपछि केहीबेर कार्यक्रम नै विथोलिएको घटनापछि कलाकार लगायत अन्यले यस्तो आक्रमणको घटनाको विरोध गरेका छन् । तर कलाकारमाथि प्रस्तुती दिइरहँदा प्रहारको घटना नयाँ भने होइन ।

गतबर्ष न्युयोर्कमा एउटा कार्यक्रममा चर्चित गायक राजेश पायल राईले गाईरहँदा उनीमाथि स्टेजमै आक्रमण भएको थियो । त्यस्तै अर्को कार्यक्रममा मदिरा सेवन गरेका एकजना दर्शक स्टेजमा चढेर नाच्ने क्रममा लफडा भएको थियो । राजेश पायल राईले गीत गाइरहँदा ती व्यक्तिले पछाडिबाट राईलाई अठ्याएका थिए । उनले पछि आफू उत्साहित भएर स्टेजमा जाँदा त्यस्तो घटना हुन पुगेको भन्दै माफी मागेका थिए ।
किन हुन्छ आक्रमण ?
प्राय यस्ता घटनाहरु दुराशयपूर्ण तरिकाले भन्दापछि दर्शकहरु मदिराको तालमा उत्तेजित भएर हुने गरेको बताउँछिन् गायिका तथा नेपाल अमेरिकन कलाकार संघकी अध्यक्ष निशा सुनार । खासगरी विदेशमा हुने कन्सर्टहरुमा नेपाली कलाकारमाथि प्रहार वा दुव्र्यवहार हुने गरेको उल्लेख गर्दै उनले घर परिवारबाट टाढा बसेका दर्शकहरु गीतले उत्तेजित भएर मदिराको तालमा यस्ता घटना गराउने गरेको उनको भनाई छ ।

त्यस्तै हाल अमेरिकाको भ्रमणमा रहेका ३ सयभन्दा बढी गीत गाइसकेका चर्चित गायक युवराज चौलागाईले पनि कलाकारमाथि स्टेजमा आक्रमण हुनुका पछाडि कार्यक्रम अगाडि आयोजक र प्रस्तोताहरुबीचको समन्वय हुन नसक्नु, स्टेज र दर्शकबीचको दुरी कायम हुन नसक्नु लगायतका कारणहरु रहेको बताउँछन् । स्टेजको छेउमा नै मादक पदार्थ सेवन गर्दा समस्या हुने गरेकाले मादक पदार्थहरु कुन स्थानमा खाने भन्ने लगायतका मापदण्डहरु हुनुपर्ने र खानैपर्ने भएमा कार्यक्रम स्थलमा नै नभई अगाडि वा पछाडितिर खाने बन्दोबस्त हुनुपर्ने उनको भनाई छ ।
सुरक्षा प्रबन्धमा जोड
कार्यक्रम गर्दा आयोजकले विशेष सुरक्षा शतर्कता अपनाउनुपर्ने निशा सुनारको भनाई छ । कलाकार को हो? भीड कस्तो छ ? भन्नेबारे ध्यान दिएर आयोजकले सोही अनुशारको सुरक्षा प्रबन्ध गर्नुपर्ने निशा सुनारको भनाई छ । मदिराकै कारण यस्ता घटनाहरु हुने गरेको बताउदै उनले कन्सर्ट गर्दा सकभर कार्यक्रम स्थलमा मदिरा राख्न नहुने बताइन् । राख्नैपर्ने भएमा स्टेज र मदिरा पिउने स्थानको दुरी कायम हुनुपर्ने तथा स्टेजको नजिक बोतल वा क्यानहरु लैजान दिन नहुने उनको भनाई छ ।
कार्यक्रम स्थलमा आउने दर्शकको सुरक्षा जाँच हुनुपर्ने र कार्यक्रम अवधिभर पनि सुरक्षा प्रबन्ध राम्रो हुनुपर्ने सुनारले बताइन् । दर्शक र स्टेजबीचको दुरी कायम हुनुपर्नेमा जोड दिदै उनले भनिन् कलाकारले पनि कस्तो कार्यक्रममा जाँदैछु भन्नेबारे ध्यान दिनुपर्छ । कार्यक्रममा सुरक्षा लगायतका मापदण्डहरु पूरा भएको छ कि छैन भन्ने कुरा आयोजकसँग समन्वय गरेर बुझ्नुपर्छ ।

प्रस्तोताले पनि हरेक कुरा बुझेर गीत गाउनुपर्ने वा प्रस्तुती दिनुपर्ने बताउँछन् गायक चौलागाई । कार्यक्रममा सुरक्षा जाँच हुनुपर्ने र केही हान्दापनि सकभर नपुग्ने स्थीति हुनेगरी स्टेज र दर्शकबीचको दुरी कायम हुनुपर्ने उनको भनाई छ । दर्शकहरु पिएपछि एक्साइटेड हुने गरेको र आफूलाई मनपर्ने कलाकारले प्रस्तुती दिइरहँदा स्टेजमा नै चढ्न खोज्ने घटना हुने गरेकाले स्टेज अग्लो बनाउनुपर्ने वा दर्शकलाई स्टेजमा चढ्न नदिनेगरी वरपर सुरक्षा प्रबन्ध राम्रो हुनुपर्ने उनले बताए ।
गायक चौलागाई भन्छन् – ‘स्टेजमा दर्शकहरुलाई जानबाट रोक्नुपर्छ । स्टेजमा केन्द्रीत भएर कलाकारले आफ्नो प्रस्तुती देखाउन पाउनुपर्छ । स्टेजमा तोकिएको व्यक्तिमात्र हुनुपर्छ । अनाधिकृत मान्छेहरु जानु हुँदैन । स्टेजमा कलाकारहरु ढोगेरमात्र चढ्छन् । किनभने स्टेजमा सरस्वतीको बास हुन्छ भन्ने विश्वास छ । सुरक्षा खतरा छैन, मादकपदार्थ छैन कलाकारहरु स्टेजबाट ओर्लेर दर्शकहरुमाझ रमाउन सकिन्छ तर सुरक्षा खतरा छ भने कलाकारहरु पनि स्टेजबाट ओर्लन हुँदैन । यसबारे मुख्य कुरा आयोजकसँगको समन्वय नै हो ।’
हलिउड र वलिउडका कलाकार समेत शिकार
नेपाली कलाकारको सन्दर्भमा मात्र होइन यस्ता घटनाहरु यदाकदा हडिउड र बलिउडमा समेत हुने गरेका छन् । केही महिना अगाडि भारतीय कलाकार सोनु निगममाथि स्टेश शोकै दौरानमा आक्रमण भएको थियो । सोनु निगमले कार्यक्रम गर्ने क्रममा स्थानीय शिवसेना सांसदका छोराले उनीसँग दुव्र्यवहार गरेका थिए । त्यस्तै गतसातामात्र २९ बर्षकी पप गायिका आभा म्याक्सले अमेरिकाको लस एन्जलस हलिउडमा गाइरहँदा एकजना व्यक्ति स्टेजमा उक्लेर दुव्र्यवहार गरेको थियो । सुरक्षा टोलीले उक्त व्यक्तिलाई हटाउन प्रयास गर्दागर्दै उक्त व्यक्तिले गायिकाको अनुहारमा हातले कोतर्न सफल भएको थियो।

त्यसको एकदिन अगाडि गायिका बेबे रेक्सामाथि न्युयोर्कमा प्रस्तुती दिइरहँदा एकजना दर्शकले फोन प्रहार गरेका थिए । जसका कारण गायिकाको टाउकोमा चोट लागेको थियो भने गायिका घुँडा टेकेर लडेकी थिइन् । आशयपूर्ण तरिकाले फोन प्रहार गर्ने २७ बर्षको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गतबर्ष चर्चित अमेरिकन गायिका लेडी गागाले प्रस्तुती दिइरहँदा उनीमाथि प्रहार भएको थियो । तर उक्त प्रहार जाधुमय तरिकाले रोकिएको थियो । लेडी गागाले अदृश्य सुरक्षा कवच लगाएका कारण उक्त प्रहारले गागालाई छुन नसकेको बताइएको थियो । उनीमाथि प्रहार भएको बस्तु उनलाई छुनु अगाडि अदृश्य कवचमा ठोक्किएर झरेको थियो ।






