चर्चित अभिनेता दयाहाङ राई भन्छन्- भेडा चराउनु सहज काम होइन


प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार

चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकारमध्येमा अभिनेता दयाहाङ राई एक हुन् । अर्थात् चलचित्रमा उनी निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्छन् । कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ थियो ।

“चलचित्रमा अभिनय गर्ने क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने मौका पाइन्छ । मेरो प्रदर्शनको क्रममा रहेको चलचित्र नीरफूलमा मैले गोठालोको भूमिका निर्वाह गर्ने । भीरपाखामा भेडा चराउँदा उहाँहरुको समस्या र साहससँग साक्षात्कार भए”, अभिनेता राईले भने । कसरी भेडालाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउने, कसरी स्याहार गर्ने भन्नेबारे स्थानीयसँग छलफल गरेपछि उनले जानकारी पाए ।

“पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको संघर्षपूर्ण अनुभव सङ्गाल्ने अवसर पाएँ । मेरो लागि रोचक रह्यो”, उनले भने । धादिङको रुबी भ्यालीमा छायाङ्कन हुँदा अभिनेता राईले हिमाली जीवनको अनुभव संगालेका थिए । एउटा नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँ नै नभेटिनु जस्तो बिडम्वना नै चलचित्रको कथासार रहेको अभिनेता राईको भनाइ थियो । उनले चलचित्र ‘नीरफूल’ मौलिक कथा र बिरलै हुने घटनामा केन्द्रित रहेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com