सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत


प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार

सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहनुभएको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो ।

यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिनुभएको थियो । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख संसद् भवन नयाँबानेश्वर आउनुभएको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रमुख एवं पदाधिकारी पनि सहभागिता रहेको छ ।

नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणाले विसं २००८ माघ २१ गते पहिलो बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त बजेट रु पाँच करोड २५ लाख बराबरको थियो । त्यसपछिका बजेट विकास केन्द्रित भएकाले वैदेशिक सहयोग प्राप्त भई सडक, पूर्वाधारलगायत महत्वपूर्ण विकास निर्माण अघि बढेको इतिहास छ ।

नेपाली कांग्रेसको नेतृत्वमा विसं २०४८ मा प्रस्तुत बजेटले आर्थिक उदारीकरण तथा नेकपा (एमाले) नेतृत्वको विसं २०५१ प्रस्तुत बजेटले सामाजिक सुरक्षामा जोड दिएका थिए । यी बजेटलाई नेपालको बजेटको इतिहासमा उदाहरणीयरुपमा हेरिने गरिएको छ ।

संसद्बाट प्रस्तुत बजेट वक्तव्य नेपाल टेलिभिजन र रेडियो नेपालसहित विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । प्रस्तुत बजेटमाथि मन्त्रालयगत छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिएपछि अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com