हिमाली जिल्ला मनाङ : ‘उज्यालो प्रदेशको अँध्यारो गाउँ’


प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार

हिमाली जिल्ला मनाङमा केन्द्रीय विद्युत् प्राधिकरण लाइनसँग जडान हुने गरी विद्युत् उत्पादन भएको छैन । जुनकिरीझैँ आफ्नै उत्पादनमा आत्मनिर्भर हुँदै लघुजलविद्युत्मार्फत उज्यालो बनेको मनाङ बाढीपहिराले अँध्यारोमा धकेलियो ।

मनाङमा सञ्चालित १३ वटा लघुजलविद्युत्को संरचना नै भत्किँदा अँध्यारोमा पुगेका स्थानलाई हालसम्म पनि उज्यालो बनाउन सकिएको छैन । मनाङका केही स्थान लघुजलविद्युत्को भरमा अहिले पनि चलिरहेका छन् । बाढीपहिराले क्षति पुगेका केही लघुजलविद्युत्का संरचना हालसम्म पनि निर्माण तथा मर्मत हुनसकेका छैनन् ।

निर्माण व्यवसायीले भीमताङ लघुजलविद्युत् आयोजनाको मर्मत तथा निर्माणका लागि सामग्री ल्याएर बाटोमा अलपत्र छाडिएको समाजसेवी चेकमान गुरुङले जानकारी दिनुभयो । “सामग्री ल्याएको छ, काम भने हुनसकेको छैन, ठूला जलविद्युत् निर्माणका सामग्री पनि केही ल्याएको छ तर काम आंशिकमात्र भएका छन्”, गुरुङले भन्नुभयो, “कहिले होला खै उज्यालो मनाङ हुने ?”

मनाङमा समयको प्रतिकूलताले गर्दा विद्युत् आपूर्तिमा समस्या आइरहने क्षेत्रमा पर्छ । यहाँका विद्युत्, टेलिफोनलगायतका अत्यावश्यकीय वस्तुको ढुवानी हुनसमेत समस्या हुने स्थान भएकाले समयको अनुकूलता तथा प्रतिकूलताको ध्यान दिएर काम गर्न सकेमा स्थानीयवासीका साथै पर्यटकलाई सहज हुने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै नासों गाउँपालिका–८ स्थित सोदीखोला लघुजलविद्युत् आयोजना बाढीपहिराबाट क्षति पुगेपछि हालसम्म पनि सञ्चालन हुनसकेको छैन । जनप्रतिनिधि तथा बुद्धिजिवीले पटक–पटक दबाब दिँदासमेत यस आयोजनाको काम हुन नसक्नु दुःखद् भएको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।

“यस आयोजना भत्किएका भाग निर्माण तथा मर्मत गर्न सके सहज हुन्थ्यो, तर पटक–पटक ताकेता गरे पनि काम गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । बाढीले क्षति पुर्याएको लघुजलविद्युत् मर्मतमा स्थानीयले श्रमदान गरी केही चल्न थालेका छन् । केही न सामग्री ल्याउन सकेका छन्, न त कामदारले काम गर्न नै सकेका छन् । ग्रामीण क्षेत्र भएकाले पनि सामग्री ढुवानीमै समस्या हुँदासमेत ढिलाइ भएको हुनसक्ने स्थानीयको बुझाइ छ ।

मनाङ पहिलोपटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जडान भयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान भएको एक वर्ष नपुग्दै विसं २०७८ जेठ १४ देखि हिमाली जिल्ला मनाङमा बाढीपहिराको विपद्मा पर्यो । केन्द्रीय प्रसारण लाइन सरकारी कार्यालयमा मात्रै जडान भएकामा बाढीपहिराले विच्छेद गरायो । त्यसयता यहाँका मानिस अँध्यारोमा नै बस्न बाध्य भएका छन् ।

सङ्घीयता कायम भएसँगै गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई उज्यालो बनाउने घोषण गर्नुभएको थियो । पूर्वमुख्यमन्त्री गुरुङले घोषणा गरेपछि सुगम मानिने जिल्ला पनि खासै उज्यालो बन्न सकेन । पूर्वमुख्यमन्त्री गुरुङले छिमेकी जिल्लाकै भएकाले मनाङलाई विशेषरूपमा विद्युत् प्रवाहका लागि व्यवस्थापन गर्नुहुन्छ भन्ने मनाङवासीको अपेक्षा भने पूरा हुन सकेन ।

केही सरकारी कार्यालयमा मात्रै जडान गरिएको थियो । तर स्थानीयवासीको घर–घरमा विद्युत् जडान हुनुअगावै बाढीपहिराले क्षति पुगेर आयोजना नै सङ्कटमा पुग्यो । उज्यालो प्रदेश घोषणा गरिएपश्चात केन्द्रीय प्रसारण लाइनको विद्युत्बाट घर–घरमा उज्यालो छाउने अपेक्षा गरेका मनाङ्वासी अहिलेसम्म अँध्यारोमा बस्न बाध्य भएका छन् ।

मनाङका कतिपय पर्यटन तथा होटल व्यवसायीले त व्यक्तिगत लगानीमा लघुजलविद्युत् आयोजना सञ्चालन गरी आफूलाई आवश्यक विद्युत् आपूर्ति गर्ने गरेका छन् । सरकारले कहिले ल्याइदिन्छ भनेर बस्नुभन्दा सकेको आफैँबाट सुरुआत गर्नुपर्छ भन्ने भावनाले यसरी जलविद्युत् सञ्चालन गरिएको भुजुङ गुरुङले बताउनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्षसमेत रहनुभएका भुजुङले आफूलाई मात्रै नभई वरपरका स्थानीयवासीलाई समेत विद्युत् प्रवाह गर्ने व्यवस्था गर्नुभएको छ । आफूलाई खपत भएको विद्युत्बाहेक बाँकी स्थानीयवासीलाई वितरण गर्दै आएको उहाँले बताउनुभयो । अँध्यारो मनाङलाई तिलिचो तालसम्म उज्यालो बनाउने उद्देश्यले पोल र तार टाङने काम भने भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिलिचोसम्म कहिलेसम्म बिजुली पुगेर उज्यालो बन्छ भन्ने यकिन भने छैन । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com