बेलडाँडीका जागरुक महिला : व्यावसायिक तरकारी खेतीबाट गतिलो आम्दानी गर्दै


प्रकाशित मिति : जेष्ठ १३, २०८० शनिबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका सहकारीमा आबद्ध महिला व्यावसायिक कार्य गरेर गतिलो आम्दानी हात पार्न थालेका छन् । व्यावसायिक तरकारी खेती, बङ्गुरपालन, बाख्रापालन, माछापालनलगायतको कार्य गरेर महिलाले आम्दानी गर्दै आएका हुन् ।

गाउँका महिला एकजुट भएर पहिला समूह निर्माण गरी रकम बचत गर्दै आएका थिए । समूहको रकम बढ्दै गएपछि महिलाले कलश महिला कृषि सहकारी संंस्था विधिवतरूपमा दर्ता गरी सञ्चालन गर्दै आएका छन् । पाँच वर्षअघिदेखि सञ्चालनमा आएको सहकारीको सम्पूर्ण व्यवस्थापनको कार्य महिलाले गर्दै आएका छन् । सहकारीको सञ्चालक, सेयर सदस्यदेखि व्यवस्थापक महिला रहेका छन् ।

सहकारीमा आबद्ध एक सय ५० महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनका लागि चारवटा समूहमा विभाजन गरिएको छ । समूहमा भएको छलफलका आधारमा व्यावसायिक कार्य गर्नका लागि ऋण प्रवाहको कार्य हुने गरेको छ ।

व्यावसायिक कार्यमा संलग्न महिलाले आम्दानीको रकम जम्मा गरी घर खर्च चलाउने कार्यसँगै पक्की घर निर्माणमा खर्च गर्दै आएका छन् । सहकारीमा आबद्ध हुनुअघि गाउँका महिलाले श्रीमान्ले मजदुरी गरी ल्याएको रकममा भर पर्नु पर्दथ्यो । एकजुट भएर सहकारीमा आबद्ध भएपछि बेलडाँडी गाउँका महिलाको दिनचर्या नै फेरिएको छ । “पहिला घर खर्च चलाउन श्रीमान्सँग पैसा माग्नु पर्दथ्यो”, सहकारीका सदस्य राधा चौधरीले भन्नुभयो, “हाल श्रीमान्को पकेट खर्च हामीले धान्ने गरेका छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तरकारी खेती, बाख्रापालनलगायतको कार्य गरी खेत जोत्नका लागि ट्रयाक्टर खरिद गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यावसायिक कार्यबाट वर्षमा रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी हुने गरेको छ । सहकारीका अध्यक्ष मीनादेवी डगौराले सहकारीमा आबद्ध महिलालाई आवश्यकताका आधारमा ऋण उपलब्ध गराउने व्यवस्था रहेको बताउनुभयो ।

“ऋण माग गर्ने सहकारीमा आबद्ध महिलाको घरमै पुगेर आवश्यकता भए नभएको यकिन गर्छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि मात्रै ऋण दिन्छौँ, गाउँका सबै महिलालाई आत्मनिर्भर बनाउनका लागि प्रयासरत रहेका छौँ ।”

सहकारीमा आबद्ध हुनुअघि गाउँका महिलाको कच्ची घरमात्रै थिए । सहकारीमा आबद्ध भएर कृषिजन्य व्यावसायिक कार्य गर्न थालेसँगै आम्दानी बढ्दै गएपछि सबै जनाले पक्की घर ठड्याएका छन् । सहकारीमा आबद्ध बिना चौधरीले व्यावसायिक तरकारी खेतीबाट घर निर्माणसँगै परिवारको खर्च, बालबालिकालाई पढाउँदै आएको निजी विद्यालयको खर्च धान्दै आउनुभएको छ । उहाँले खेत जोत्नका लागि पावरटिलर, तरकारी बजारसम्म पुर्याउनका लागि अटो र धान कुटने मेसिन खरिद गर्नुभएको छ ।

“घरका पुरुष पहिला मजदुरी गर्दथे”, उहाँले भन्नुभयो, “महिलाले घरायसी चुलोचौका र मेलापातमै सीमित हुनु पर्दथ्यो, सहकारीमा आबद्ध भएपछि व्यावसायिक कार्य गर्न थालेपछि आर्थिकरूपमा सवल बन्दै गएका छौँ ।” पहिला साहुसँग कर्जा माग्न जाने गरेको उल्लेख गर्नुहुँदै उहाँले व्यावसायिक तरकारी खेती गर्न थालेपछि पैसा अभाव खेप्नु नपरेको बताउनुभयो । सहकारीका सम्पूर्ण सदस्य व्यावसायिक कार्यमा संलग्न छन् ।

व्यावसायिक कार्य गर्नेलाई मात्रै सहकारीको सदस्यता दिइने गरेको छ । सहकारीमा आबद्धमध्ये ९६ महिला व्यावसायिक कार्यमा संलग्न छन् । छयालीस व्यावसायिक कृषि कार्यमा र ५० महिला व्यावसायिक पशुपालनमा संलग्न छन् । अन्य सहकारीमा आबद्ध महिलाले थोरै जग्गा भए पनि तरकारी खेती गर्दै आएको सहकारीका सचिव रुपाकुमारी चौधरीले बताउनुभयो । सचिव चौधरीले माछा, बङ्गुर, बाख्रा र हाँसपालन गर्दै आउनुभएको छ ।

व्यावसायिक तरकारी खेती र पशुपालनका लागि सहकारीबाट रु दुई लाखसम्म कर्जावापतको रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । व्यावसायिक कार्यमा संलग्न महिलाले तरकारी खेती र पशुपालनको बीमासमेत गरेका छन् । तरकारी खेती र पशुपालनमा आकस्मिकरूपमा क्षति भएमा बीमाबाट रकम क्षतिपूर्तिका रूपमा महिलाले पाउने गरेका छन् । बीमा गरेवापतको रकममध्ये ८० प्रतिशत बीमा कम्पनीले र २० प्रतिशत रकम कृषिजन्य कार्यमा संलग्न महिलाले व्यहोेर्ने गरेका छन् ।

क्षतिको यकिन गर्न सहकारीमा आबद्ध महिलाकै नेतृत्वमा बीमा समिति गठन गरिएको छ । सोही समितिले क्षतिको अवस्था निर्धारण गरेको आधारमा क्षतिपूर्तिको रकम पाउने गरेका छन् । सहकारीमा आबद्ध आसमती चौधरी बीमा गर्ने व्यवस्था सुरु भएसँगै ढुक्कसँग तरकारी खेती गर्न सकिएको बताउनुहुन्छ । “तरकारी बालीमा क्षति भए बीमाबाट रकम आउँछ”, उहाँले भन्नुभयो, “पहिलाजस्तो तरकारी खेतीमा लगानी डुब्ने अवस्था छैन ।”

सहकारीमा आबद्ध महिलाकै कारण चुरे फेदीको बेलडाँडी अहिले तरकारी खेती हुने गाउँका रूपमा परिचित भएको छ । जागरुक महिलाको प्रयासले घर खर्च चलाउनका लागि भारतीय बजारमा दरवान र कुल्ली भएर काम गर्ने पुरुष अहिले महिलासँगै तरकारीका बिरुवा रोप्ने, गोडमेल गर्ने, तरकारी टिपेर बजारसम्म बिक्री गर्न जाने गरेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com