नक्कली शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु हुने


प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अदालती बयान प्रक्रिया आजदेखि सुरू हुने भएको छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्काली गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत १६ जना पक्राउ परेका छन् । बाँकी १४ जना फरार छन् ।

सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंले बुधवार जिल्ला अदालत काठमाडौंमा ५ वटा कसुरमा मुद्दा दायर गरेको छ ।

राज्यविरुद्धको अपराध, संगठित अपराध, कीर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्दा दर्ता गराइएको छ । हिजो सार्वजनिक बिदा परेकाले आजदेखि अदालतमा बयान सुरू गर्न लागिएको हो ।

बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् । यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै जना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ । १६ जनाको बयान सकिन केही दिन लाग्ने निश्चित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com